काठमाडौं – मुलुकमा सञ्चालित फिटनेश सेन्टरको मापदण्ड माथि सासंदले प्रश्न उठाएका छन्। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेकपाकी सांसद डा बिमला राई पौडेलले फिटनेश सेन्टरको मापदण्ड माथि प्रश्न उठाएकी छिन्।
उनले भनिन्, ‘फिटनेश सेन्टर च्याउ उम्रे जसरी उम्रिरहेका छन्। तिनीहरु कहाँ रजिष्ट्रर हुन्छन्, तिनीहरुको मापदण्ड के हो?’
सासंद पौडेलले फिटनेश सेन्टरले दिने सुरक्षाको व्यवस्था बारे पनि प्रश्न उठाएकी छिन्। ललितपुरका एक फिटनेश सेन्टरमा साउना लिन गएका एक दम्पत्तिको गत साता मृत्यु भएको थियो।
सासंद पौडेलले बैठक मार्फत कानून मन्त्रालयसमेत सम्हालरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण समेत गराएकी छिन्।
उनले भनिन्, ‘यो फिटनेश सेन्टर खोल्ने कहाँ हो, यसको रजिष्ट्रेशन कहाँ हुन्छ, यसको मापदण्ड के हो? यसको व्यवस्थापनमा तुरुन्तै ध्यान दिन ध्यानाकर्षण गराउन चाहन्छु।’
फिटनेश सेन्टर सञ्चालनका लागि सरकारले छिटोभन्दा छिटो मापदण्ड बनाउन उनको आग्रह छ। फिटनेश सेन्टरको गुणस्तर पनि मापन गर्नुपर्ने उनको भनाई छ।
‘फिटनेश सेन्टरको गुणस्तर मापन होस, मापदण्ड तोकियोस, कार्यान्वयन होस र यसलाई प्राथमिकता दिन म ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन्।