काठमाडौं- कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय ७० नेपालीले आवेदन दिएका छन्।
बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले आवेदनको अन्तिम रुजु गर्ने काम जारी रहेको जानकारी दिए ।
‘केही आवेदन दोहोरिएका छन्, त्यसलाई हामी अन्तिम रुजु गर्दैछौं,’ टेलिफोन सम्पर्कमा नेपाल लाइभसँग लम्सालले भने, ‘सबै मिलाउँदा करिब १ सय ७० जनाको आवेदन परेको छ ।’
बेइजिङस्थित नेपाली दूतावासले शनिबार सूचना निकालेर हुबेईका नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकाले तत्कालै फाराम भर्न आग्रह गरेको थियो।
नेपाल आउन चाहने नेपालीका लागि चीनको स्थानीय समयअनुसार आइतबार बिहान ९ बजेसम्म आवेदन भर्ने समयसीमा तोकिएको थियो ।
तीन दिनमा नेपाल फर्काउने
लम्सालले त्यस क्षेत्रका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया सुरु भइसकेको भन्दै उनीहरु २/३ दिनमा नेपाल आइपुग्ने बताए ।
‘उनीहरुलाई नेपाल फर्काउने प्रक्रिया योसँगै सुरु भइसक्यो,’ उनले भने, ‘२/३ मा हामी उनीहरुलाई नेपाल फर्काउँछौं ।’
नेपाल फर्किन फाराम भरेका नेपालीहरुलाई जहाज चार्टर गरी स्वदेश फर्काउने तयारी दूतावासको छ । यसबारे जानकारी दिँदै लम्सालले भने, ‘हामी जहाज चार्टरका लागि कुरा गरिरहेका छौं । प्रक्रिया सकाएर चाँडै उहाँहरुलाई नेपाल फर्काउँछौं ।’
कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि हुबेई प्रान्तस्थित वुहान र अन्य क्षेत्रमा रहेका नेपालीको सहायताका लागि चीनस्थित नेपाली दूतावासले विशेष सेल स्थापना गरेको थियो।