काठमाडौं – स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको स्तर वृद्धिका लागि भन्दै नेपाल दृष्टि विशेषज्ञ संघले दर्ता परीक्षा (लाइसेन्स) को माग गरेको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता हुन आउने स्वास्थ्यकर्मीको दर्ता परीक्षा सञ्चालन गर्न संघले माग गरेको हो। संघले परिषदका रजिष्ट्रार दीपक भट्टलाई ज्ञापनपत्र समेत बुझाएका छन्।
ज्ञापनपत्रमा यथाशिघ्र परीक्षा सञ्चालन गर्न अपिल समेत गरेको छ।
भनिएको छ, ‘परिषदमा दर्ता हुन आउने स्वास्थ्यकर्मीको संख्यामा उल्लेख्य वृद्धि भएकाले स्वास्थ्य पेशाको गरिमा एवं मर्यादा उच्च राख्न परिषदले दर्ता परीक्षा लिनुपर्ने आवश्यकता ठहर गर्दै उक्त परीक्षा यथाशिघ्र सञ्चालन गर्नुपर्ने अपिल गर्दछ।’
दृष्टि विशेषज्ञहरुका लागि यो परीक्षा झनै आवश्यक रहेको उनीहरुको भनाई छ। परिषदले परीक्षा सञ्चालन गरे स्वास्थ्य सेवा थप मर्यादित हुन सहयोग पुग्ने संघले जनाएको छ।
