काठमाडौं- चीनबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई राख्ने सुरक्षित स्थानबारे सरकारले मंगलबार बेलुकीसम्म टुंगो लगाउने भएको छ।
सम्भावित स्थानबारे अध्ययन तथा छलफल भइरहेकाले मंगलबार बेलुकीसम्म टुंगो लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
सरकारले चीनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने तयारी गरे पनि हालसम्म उनीहरुलाई राख्ने सुरक्षित स्थानको निक्र्योल हुन सकेको छैन। मन्त्रालयका प्रवक्ताले भने, ‘नेपालीलाई फिर्ता ल्याइएपछि कहाँ राख्ने भन्ने तय भइसकेको छैन। तर हामी मंगलबार बेलुकीसम्म जसरी पनि निर्णय गर्छौं।’
स्थानको निक्र्योल भइसकेपछि उनीहरुलाई बढीमा चार दिनभित्र स्वदेश फर्काइने प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले भने, ‘हामीले मात्र तयारी गरेर हुँदैन। अन्य मन्त्रालयको समन्वय पनि आवश्यक छ।’
हालसम्म भक्तपुरको विद्युत तालिम केन्द्र, स्टाफ कलेज जावलाखेल, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको हल, कीर्तिपुर आयुर्वेदिक अस्पताल सम्भावित सुरक्षित स्थानको सूचीमा छन्। एउटा कोठामा तीन जनाभन्दा बढी मानिसलाई राख्न नमिल्ने मन्त्रालयले जनाएको छ।
चीनबाट फर्कने नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा संक्रमित भए तोकिएका अस्पतालको आइसोलेसन वार्डमा राखी उपचार हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। अन्य नेपालीलाई भने दुई हप्तासम्म निगरानीका साथ छुट्टै स्थानमा राखिने छ। यसअघि चीनबाट प्रस्थान गर्ने विमानस्थलमा सबै नेपालीको स्वास्थ्य परीक्षण गरिने मन्त्रालयले जनाएको छ।
चीनबाट फर्कने नेपालीको उपचारका लागि आवश्यक स्वास्थ्यकर्मी छन्? भन्ने जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, ‘चीनबाट आउने सबै नेपाली स्वस्थ छन्। उनीहरुलाई केही संक्रमण देखियो भने मात्र आइसोलेसन वार्डमा राख्नुपर्ने हो। नभए क्वारेन्टाइनमै राख्नुपर्छ। जहाँ सामान्य चिकित्सकले पनि उनीहरुको परीक्षण गर्न सक्छन्। विशेषज्ञ चाहिँदैन।’
मुलुकमा हालसम्म १४ जना शंकास्पद बिरामी भेटिएको मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख सागर दाहालले जानकारी दिए। जसमध्ये १ जनामा संक्रमण पुष्टि भइसकेको छ भने तीन जनाको रिपोर्ट आउन बाँकी छ। अन्यमा संक्रमण देखिएको छैन। लक्षण देखिएको व्यक्तिबाट मात्र कोरोना भाइरस सर्ने गरेको पाइएको उनले जानकारी दिए।