काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनको अन्तिम दिन आज उपत्यकाभित्र मतदान जारी रहेको छ। आज अपराह्न ४ बजेसम्म लाइनमा बस्नेले मतदान गर्न पाउने व्यवस्था मिलाइएको मतदान अधिकृत डा नविन्द्रराज विष्टले जानकारी दिए।
मतगणना भने भोलि गरिने बताइएको छ। उपत्यकाभित्र करिब ७ हजार मतदाता रहेका छन्।
मतदानको चौंथो दिन हिजो ७ सय ५९ मत खसेको थियो। पहिलो दिन शुक्रबार ३ सय २६ मत खसेको थियो। शनिवार ८ सय २८ मत र सोमबार ८ सय ७ मत खसेको थियो।
यसअघि उपत्यकाबाहिर १६ स्थानमा मतदान भइसकेको छ। उपत्यका बाहिर २८ सय ५० मत खसेको छ।
नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेसागत समूह मुख्य प्रतिस्पर्धामा छन्।