फाइल तस्बिर
काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन। मतगणना कति स्थानमा गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि मतगणना सुरु हुन नसकेको हो।
निर्वाचन समितिले पाँच स्थानमा मतगणना गर्ने तयारी गरेको छ। तर, महासचिवका उम्मेदवार मधुर बस्नेतले एक ठाँउमा मात्र गणना गर्नुपर्ने र प्रोजेक्टरमा देखाउनु पर्ने अडान लिएपछि विवाद सुरु भएको हो।
मतगणना बिहान ८ बजेबाट सुरु गर्ने भनिएको थियो। तर, विवादका कारण अझै केही समय लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ।
‘हामी छलफलकै चरणमा छौं,’ निर्वाचन समितिका एक सदस्यले भने, ‘निष्पक्ष रुपमा विवादरहित ढंगमा मतगणना हुने छ।’
संंघकाे नयाँ कार्यसमिति चयनका लागि उपत्यका बाहिर माघ ४ र ५ उपत्यका भित्र १७ देखि २१ गतेसम्म दुई चरणमा निर्वाचन भएको थियो।
निर्वाचनमा काठमाडौं उपत्यका र बाहिर गरी ६ हजार १ सय ५२ मत खसेको छ।