काठमाडौं- विवाद लम्बिएपछि नेपाल चिकित्सक संघको मतगणना अझै सुरु हुन सकेको छैन।
बुधबार बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतगणनाका विषयमा विवाद बढ्दै गएपछि सुरु हुन नसकेको हो।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट समावेशी समूहका अध्यक्ष उम्मेदवार डा पुष्पमणि खराल र महासचिव उम्मेदवार डा मधुर बस्नेतले मतगणना एक स्थानमा मात्र गर्नुपर्ने भन्दै विवाद झिकेपछि दुवै पक्षबीच चर्काचर्की भएको छ।
निर्वाचन समितिले ५ स्थानमा मतगणना गर्ने तयारी गरेको छ।
एक ठाँउमा मात्र गणना गर्नुपर्ने र प्रोजेक्टरमा देखाउनु पर्ने भन्दै समावेशी समूहले विवाद गरेपछि दुवै पक्षबीच चर्काचकी बढ्दै भएको छ।
उनीहरूलाई नेकपानिकट चिकित्सकहरूले दुरुत्साहन गरेका कारण विवाद लम्बिँदै गएको अन्य चिकित्सकको आरोप छ।
‘हामी छलफलकै चरणमा छौं,’ निर्वाचन समितिका एक सदस्यले भने, ‘निष्पक्ष रूपमा विवादरहित ढंगमा मतगणना सुरु हुनेछ।’
संंघको नयाँ कार्यसमिति चयनका लागि उपत्यका बाहिर माघ ४ र ५ गते मतदान भएको थियो भने उपत्यकाभित्र १७ देखि २१ गतेसम्म मतदान भएको थियो।
निर्वाचनमा काठमाडौं उपत्यका र बाहिर गरी ६ हजार १ सय ५२ मत खसेको छ।
संघको अध्यक्षका लागि लोकतान्त्रिक र समावेशी समूहबीच प्रतिस्पर्धा छ।