काठमाडौं- नेपाल चिकित्सक संघको केन्द्रिय कार्यालयमा बिहान ८ बजेदेखि मतगणना गर्ने तयारी थियो। मंगलबार मतदान सकिएपछि भएको छलफलले ८ बजेबाट मतगणना गर्ने मौखिक सहमति गरेको थियो।
सोही सहमति अनुसार संघको कार्यालयमा अधिकांस उम्मेदवार र उनीहरुका प्रतिनिधी तथा संघका कर्मचारी ८ नबज्दै पुगिसकेका थिए। निर्वाचन समितिका पदाधिकारी पनि सोही अनुसार ८ बज्नुभन्दा अगाडि नै पुगिसकेका थिए।
तर, संघको नयाँ कार्यसमितिका लागि मंगलबारसम्म भएको मतदानको मतगणना कार्य सुरु हुन सकेन।
बिहान ८ बजे सुरु हुने भनिएको मतगणना एक, दुई, तीन हुँदै झण्डै १० घन्टासम्म रोकियो।
यसरी मतगणना रोकिनुको प्रमुख कारण थियो, एक जना उम्मेदवारको जिद्दीपन।
र, मतगणनालाई आफ्नो एक्लो जिद्दीका कारण रोक्ने उम्मेदवार हुन् डा मधुर बस्नेत।
डा बस्नेत डा पुष्पमणि खराल नेतृत्वको पेसागत समावेशी समूहबाट महासचिव पदका उम्मेदवार हुन्।
सुरुमा डा बस्नेतले एक ठाँउमा मात्र मतगणना गर्नुपर्ने र मतगणनाको काम प्रोजेक्टरमा देखाउनु पर्ने माग राखे।
निर्वाचन समितिले मतगणनालाई पाँच ठाँउमा गर्नुपर्ने तयारी गरेको थियो। निर्वाचन समितिको तयारीविपरित डा मधुरले एक ठाँउमा मात्र मत गन्नुपर्ने र त्यसलाई पनि क्यामेरामार्फत खिचेर प्रोजेक्टरमा देखाउनु पर्ने अडान लिएपछि केही समय विवाद समेत भयो।
विवाद बढ्दै गएपछि निर्वाचन समितिले डा बस्नेतकै माग अनुसार क्यामेरा र प्रोजेक्टरको व्यवस्था समेत गर्यो। उनकै अगाडि मत गन्ने नमुना पनि प्रस्तुत गरियो।
त्यसपछि पनि उनले मतदान एक ठाँउमा मात्र गन्नु पर्ने र हरेक मत प्रोजेक्टरमा दखाउनुपर्ने मागमा अड्डी कसे।
प्रोजेक्टरमा हरेक मत देखाउँदै एक स्थानमा मात्र मत गन्दा समस्या हुने र ढिलो हुने भन्दै निर्वाचन समितिले निष्पक्ष र पारदर्शी ढंगबाट पाँच स्थानमा मतगणना गर्ने बतायो।
डा लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूह निर्वाचन समितिको हरेक निर्णयमा सुरुदेखि नै सहमत थिए। लोकतान्त्रिक समूह बिहान ८ बजेदेखि नै पाँच स्थानमा प्रतिनिधी राखेर मतगणना गर्न पनि राजी थिए।
तर, डा मधुरले पटक पटक विवाद निकाल्दै मतगणना अगाडि नबढाउने जिद्दी मात्र गरिरहे।
डा मधुरलाई नेकपा निकटका केही डाक्टरहरुले साथ दिएका थिए।
उनीहरुले संघको कार्यालय बाहिर रहेको रेष्टुरेन्टमा डा मधुरलाई बोलाउँदै विभिन्न सुझाव दिँदै पठाइरहेका थिए।
डा मधुरसहित नेकपा निकटका उम्मेदवारले मतगणनामा अवरोध गरेको विषय स्वास्थ्यखबर सहितका केही मिडियामा सार्वजनिक भएपछि डाक्टरहरुको फेसबुक पेज डाक्टर सोसाइटी अफ नेपालमा मतगणना रोकेको विषयमा धेरैले आक्रोश पोखे।
मतगणना रोक्ने समूहलाई चितवनमा स्थानीय तहको निर्वाचन जस्तै मतपत्र नै च्यात्न खोजेको आरोप समेत लाग्यो।
मतदाताले समेत मतगणना रोक्ने समूहका विषयमा नकारात्मक टिप्पणी गरेपछि पेसागत समावेशी समूहका अध्यक्षका उम्मेदवार डा पुष्पमणि खराल केही लचक हुँदै आए। उनी मतगणना सुरु गर्न आफू सहमत भएको र डा मधुरलाई सम्झाउने भन्दै निर्वाचन समिती र लोकतान्त्रिक समूहका उम्मेदवारसँग छलफलमा जुटे।
संघको कार्यालयभन्दा बाहिर रहेको रेष्टुरेन्टमा नेकपा निकटका केही डाक्टर र डा बस्नेतको छलफल चल्यो।

त्यसपछि डा बस्नेतसहित सबै उम्मेदवार र निर्वाचन समितिबीचमा छलफल चल्यो। छलफलका क्रममा केही चर्काचर्की समेत भएको थियो।
छलफल हुने तर सहमति नहुने क्रम बढ्दै गएपछि निर्वाचन समितिले मतगणना नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने तयारी गर्यो।
एकातिर निर्वाचन स्थिगित गर्ने तयारी र अर्कोतर्फ नेकपा निकट डाक्टरलाई मतगणना रोकेको आरोप चौतर्फी रुपमा लाग्न थालेपछि तीन ठाँउमा मतदान गर्न सहमति भयो।
यतिबेलासम्म साँझको साढे ५ बजसिकेको थियो।
सबैतिरबाट दवाव र विरोध भएपछि डा मधुर बस्नेतले आफ्ना ४ बुँदे असहमति लिखित रुपमा राख्दै मतगणना र निर्वाचन परिणाम स्विकार गर्ने विषयमा हस्ताक्षर गरे।
यस्ता छन् डा मधुरले राखेका ४ बुँदे असहमति

यो असहमित राख्दै प्रक्रिया अगाडि बढाउन डा मधुरले हस्ताक्षर गरेपछि निर्वाचन समितिले मतगणनाको काम अगाडि बढाएको हो।
मतगणनाका लागि मुचुल्का उठाउँदै मतपेटिक खोल्दा साँझको ७ बजिसकेको थियो। त्यसपछि अहिले संघको मतगणनाको काम अगाडि बढीरहेको छ।