काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहानबाट ल्याइने नेपालीलाई ४ ठाउँमा राख्न निर्देशन दिएका छन्।
'बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री र मुख्यसचिवलगायतका अधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।
'प्रधानमन्त्रीज्यूले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा जुट्न र सम्पूर्ण कार्य योजनाबद्ध रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गराउनु भएको छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्यखबरसँग भने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार चीनबाट ल्याइने नेपालीलाई शिवपुरी, भक्तपुरका इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइनस्थल व्यवस्थित गरी राख्न निर्देशन दिएका हुन्।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले त्यसबारे कार्ययोजना प्रस्तुत गरेका थिए भने परराष्ट्र सचिव शंकरदास बैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएका थिए।
कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय ७० नेपालीले आवेदन दिएका थिए।
बेइजिङस्थित नेपाली दूतावासले शनिबार सूचना निकालेर हुबेईका नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकाले तत्कालै फाराम भर्न आग्रह गरेको थियो।