काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना सुरु भएको छ। संघको केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको हो।
संघको निर्वाचन समितिले बिहीबार उम्मेदवारहरुसँग गरेको छलफलले ६ बुँदे सहमति गरेपछि शुक्रबारदेखि मतगणना गर्ने सहमति भएको थियो।
संंघको नयाँ कार्यसमिति चयनका लागि उपत्यका बाहिर माघ ४ र ५ र उपत्यकाभित्र १७ देखि २१ गतेसम्म दुई चरणमा निर्वाचन भएको थियो।
निर्वाचनमा काठमाडौं उपत्यका र बाहिर गरी ६ हजार १ सय ५२ मत खसेको छ।
जसमध्ये उपत्यकामा मतदानमा ३ हजार ३ सय २ र उपत्यकाबाहिर २ हजार ८ सय ५० मत खसेको थियो।
मतगणना फेसबुकमार्फत लाइभ भइरहेको छ।
नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेसागत समूह मुख्य प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिवप्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन्।
उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झा मैदानमा छन्। कार्की लोकतान्त्रिक र झा पेसागत समूहका हुन्।
महासचिवमा चार जना चिकित्सक अजयकुमार मिश्र, बद्री रिजाल, दीपेन्द्र पाण्डे र मधुर बस्नेत महासचिवका लागि प्रतिस्पर्धामा छन्। मिश्र र पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेसागत समूहका हुन्।
कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र सञ्जितकुमार साह मैदानमा छन्। बुढाथोकी लोकतान्त्रिक र साह समावेशी पेसागत समूहका हुन्।
यस्तै सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट सैलेन्द्र झा चुनावी मैदानमा छन्।
सहकोषाध्यक्षमा विश्वराज दवाडी र उदयनारायण सिंह मैदानमा छन्। दवाडी लोकातान्त्रक र सिंह समावेशी समूहका हुन्।
सदस्यहरुमा लोकतान्त्रिक समूहबाट क्रमशः विक्रान्त ढकाल, विपेश आचार्य, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा र सञ्जिव तिवारी रहेका छन्।
समावेशी समूहबाट सदस्यहरुमा क्रमश दीपकप्रसाद कोइराला, जगदिशचन्द्र विष्ट, लिजन महर्जन, राकेशकुमार साह, सुमान काफ्ले र त्रिभुवन चन्द्र झा रहेका छन्।
यस्तै सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।