काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा चौथो सफलता मिलेको छ। शुक्रबार बौद्धका ५७ वर्षीय एक व्यक्तिको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
उनलाई आफ्नै २७ वर्षीया छोरीले कलेजो प्रत्यारोपण गरेको अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञ डा रमेशसिंह भण्डारीले जानकारी दिए। शुक्रवार दिउँसो १२ बजेबाट सुरु गरिएको अप्रेशन बेलुकी ९ बजे सकिएको थियो। अहिले उनीहरुको अवस्था राम्रो रहेको उनले बताए।
यसअघि अस्पतालले जेठ १८ गते पहिलो कलेजो प्रत्यारोपण गरेको थियो। बसुन्धरा काठमाडौंका ५८ वर्षीय पदम बहादुर मल्ललाई उनकी ३३ वर्षीय छोरी पुण्ड शाहीले कलेजो प्रत्यारोपण गरेका थिए। दोस्रो साउन ३ र कार्तिक १ गते तेस्रो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
महिनामा एक जनाको कलेजो प्रत्यारोपण गर्ने त्रिवि शिक्षण अस्पतालको तयारी छ। तर बिरामीलाई कलेजो प्रत्यारोपण गर्न सबै कुरा मिल्नुपर्ने भएकाले प्रत्येक महिना प्रत्यारोपण गर्न नसकिएको उनले बताए। उनले भने, ‘महिनामा एक जनाको प्रत्यारोपण गर्ने हाम्रो तयारी हो। तर हामीले तयारी मात्र गरेर नहुँदो रहेछ। बिरामीको पनि सबै मिल्नुपर्छ।’
कलेजो प्रत्यारोपणका लागि महिनामा करीब आठ जना आएपनि एक जनाको मात्र गर्न सकिएको उनले बताए। नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले सुरु गरेको थियो। भारतमा ७० लाख भन्दा बढी खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा हुने अस्पतालले जनाएको छ।
चिकित्सकका अनुसार विभिन्न कारणले कलेजो बिग्रिएपछि अन्तिम विकल्प प्रत्यारोपण मात्र हुने गर्छ। बिरामीको नाता पर्ने तथा स्वस्थ व्यक्तिले मात्र कलेजो प्रत्यारोपण गर्न सक्ने उनले बताए।