फाइल तस्बिर
डडेल्धुरा– सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक भनिएको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग भएको भेटिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बाँडेको एम्बुलेन्स प्रहरीले दार्चुलामा नियन्त्रणमा लिएको हो।
बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको हो। महेन्द्रनगरबाट फर्किने क्रममा एम्बुलेन्स चेकजाँचका क्रममा मृत चित्तल भेटिएपछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए।
उनका अनुसार एम्बुलेन्स चालक महेश बोहोरालाई पनि पक्राउ गरिएको छ। बोहोराले कञ्चनपुरको अर्जुनी ब्यारेकबाट चित्तल मारेर ल्याएको बयान प्रहरीसमक्ष दिएका छन्।
एम्बुलेन्स र चालकलाई सव डिभिजन वन कार्यालय चौलानीलाई बुझाईने प्रहरीले जनाएको छ। प्रहरीले बुझाएपछि चालकविरुद्ध वन ऐन अनुसार कारबाही गरिने सव डिभिजन वन कार्यालयका प्रमुख परमानन्द कुँवरले बताए।