काठमाडौं- नेपाल मानव अधिकार आयोगले चीनको हुवेईका नेपाली नागरिकलाई तत्काल उद्धार गरी स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ।
त्यहाँका नेपालीको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील हुन आयोगले सरकारलाई निर्देशन दिएको हो।
कोरोना भाइरसका कारण सन्त्रस्त सो प्रान्तमा रहेका नेपालीका अभिभावकहरूद्वारा आयोगसमक्ष ज्ञापनपत्र बुझाएका थिए।
सो सम्बन्धमा आयोगले ध्यानाकर्षण भएको जनाएको थियो।

चीनमा हाल १ सय ८० जना नेपालीले स्वदेश फर्कनका लागि फारम भरेका छन्।
गत शनिबार साँझ एक सूचना जारी गर्दै चीनस्थित नेपाली दूतावासले आइतबार ९ बजेसम्म फारम भरिसक्न आह्वान गरेको थियो।
तर हालसम्म पनि नेपाल सरकारले नागरिक फिर्ता ल्याउन नसकेको भन्दै आलोचना भइरहेको छ।
सुरुमा चीनको हुवेई प्रान्तमा भेटिएको कोरोनाका कारण ८ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने २५ भन्दा बढी देशमा संक्रमितहरू भेटिइसकेको छ।