काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले प्रतिष्ठान भित्रकै प्राध्यापक डाक्टरलाई उपकुलपतिमा नियुक्त गर्न माग गरेको छ।
समाजको हालै बसेको साधारण सभाले ४ बुँदे निर्णय गर्दै प्रतिष्ठान भित्रबाट नै उपकुलति नियुक्तीको माग गरेको हो। समाजले उपकुलति नियुक्तीमा प्रतिष्ठानको हित विपरित नगर्न पनि सरकारसँग आग्रह गरेको छ।
‘अहिलेको अवस्थामा संस्थामा लामो समय अनुभव भएको, संस्थाका समस्याहरुसँग जानिफकार रहेको गैरराजनीतिक एवम् अध्ययन, अध्यापन, रिसर्च र स्वास्थ्य सेवामा उत्तिकै दख्खल भएको प्राज्ञ प्राध्यापक यही संस्थामा रहेका र उपकुलपति नियुक्त गर्दा प्रतिष्ठानबाटै गर्दा उपयुक्त देखिने सर्वसम्म निष्कर्श रहेको छ,’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
समाजले प्रतिष्ठान बाहिरबाट उपकुलति नियुक्त गरेमा आन्दोलन र विरोध गर्ने कुरा विज्ञप्तिमा मार्फत घुमाउरो भाषामा संकेत गरेको छ।
‘उपकुलति नियुक्तीमा संवेदनशिलता नदेखाई यस प्रतिष्ठानको हित विपरित कुनै निर्णय गरिएमा त्यसको असर समग्र प्रतिष्ठान, पूर्वकाजनता एवं देशलाई नै पर्ने कुरामा विशेष जोड दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट उत्पन्न हुने प्रतिकुल प्रभावको सम्पूर्ण जिम्मेवार सरकार नै रहने जानकारी गराउन चाहन्छौं।’
समाजले उपकुलति छनोट प्रक्रिया पारदर्शी हुनुपर्ने कुरामा पनि जोड दिएको छ।
प्रतिष्ठानको उपकुलपतिमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निजी मेडिकल कलेजमा कार्यरत डा ज्ञानेन्द्र गिरीलाई नियुक्त गर्न खोजिरहेका छन्। डा गिरी विराट मेडिकल कलेजमा कार्यरत छन्।
मन्त्री ढकाल उपकुलति छनोट समितिका अध्यक्ष हुन्।
उपकुलपतिका छानेट समितिले उपकुलतिका लागि तीन जनाको नाम सिफारिस गरेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ। तर, तीन जनाको नाम भने अझै गोप्य राखिएको छ। स्रोतका अनुसार तीन जनामा डा गिरीको नाम समेत छ।