काठमाडौं- सरकारले चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने तयारी थालेको एक साता बढी भइसक्यो। तर, हालसम्म पनि कहिले फिर्ता ल्याउने भन्नेबारे टुंगो लाग्न सकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १० गते चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि ग¥यो। त्यसयता नेपालमा कोरोना भाइरसको त्रास र बहस बढ्दै गएको छ।
कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले तयारी सुरु ग¥यो। तर त्यो तयारी आजको दिनसम्म पनि सकिएको छैन। चीनको हुबेई प्रान्तमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएपछि त्यहाँ रहेका नेपालीले स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरे।
स्वदेश फिर्ता गर्ने निर्णय भए पनि कहिले ल्याउने भन्नेबारे टुंगो लगाउन सरकारलाई हम्मेहम्मे परेको छ। अभिभावकहरु आफ्ना सन्तानलाई फिर्ता ल्याइदिन सरकारसामु रोइकराई गरिरहेका छन्। उद्धारको माग गर्दै उनीहरु कहिले स्वास्थ्यमन्त्रालय त कहिले गृहमन्त्रालय र मानवअधिकार आयोगलाई गुहारिरहेका छन्।
हुबेई प्रान्तमा रहेका नेपालीलाई शिवपुरी, इचंकुनारायण, खरिपाटी र सूर्यविनायकमा राख्ने व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको छ। चारैतिर हेरिसकेपछि सरकारले बल्ल–बल्ल भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तय भयो। तर त्यहाँका स्थानीयले विरोध गरिहेका छन्।
चीनबाट फिर्ता गरेर ल्याइने नेपालीलाई राख्न विश्व स्वास्थ्य संगठनको मापदन्ड अनुसार काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकाको ३६ वटा अस्पतालमा गरी आइसोलेनका लागि १ सय ४७ शय्या तयारी अवस्थामा रहेको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले जानकारी दिए।
थप तयारीबारे छलफल गर्न मंगलबार अस्पतालका प्रतिनिधिसँग मन्त्रालयले छलफल गर्दैछ। उनले भने, ‘चीनबाट आउने सबै जना स्वस्थ हुन् तर यदि आवश्यक प¥यो भने अस्पतालहरु तयारी अवस्थामा छन्।’
क्वारेन्टाइन र स्क्रिनिङमा खटिने कर्मचारीहरुलाई सोमबार तालिम दिएको मन्त्रालयले जनाएको छ। चीनमा रहेका नेपालीलाई लिन फागुन ३ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाउने पर्यटन मन्त्रालयको तयारी छ। तर उनीहरुलाई कहिले फिर्ता ल्याइन्छ? त्यसको टुंगो अझै पनि भइसकेको छैन।
मन्त्रालयका सहप्रवक्ता दाहालले भने, ‘स्वास्थ्य मन्त्रालयले मात्र तयारी गरेर हुँदैन । रक्षा, पर्यटन, परराष्ट्र मन्त्रालयसँगको समन्वय पनि आवश्यक हुन्छ। सबै मन्त्रालयले तयारी सक्नुपर्छ।’