चीनमा रहेका नेपाली
काठमाडौं– कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता ल्याउने विषयमा सरकारले अझै कुनै निर्णय लिन सकेको छैन। बेइजिङस्थित नेपाली दूतावासले ९ दिनअघि नै स्वदेश फर्कन चाहने हुबेई प्रान्त क्षेत्रका विद्यार्थीको आवेदन लिए पनि उनीहरुलाई स्वेदश फर्काउनेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय लिएको छैन।
नेपालीहरुलाई जहाज चार्टर गरी स्वदेश फर्काउने भन्दै आवेदन भर्न आह्वान गरेपछि करिब १ सय ८५ नेपाली विद्यार्थीले १९ माघमा आवेदन दिएका थिए।
बेइजिङस्थित नेपाली दूतावासले भने नेपाली विद्यार्थीलाई स्वेदश फर्काउन आफूहरुले सबै तयारी गरेको भए पनि नेपालबाट कुनै औपचारिक निर्देशन नआएको बताएको छ ।
‘हामीले यहाँबाट सबै प्रक्रिया पुरा गरिसकेका छौं,’ दूतावासका उप्रमुख सुशील लम्सालले भने, ‘अब सरकारले उनीहरुलाई कहिले लैजाने भनेर औपचारिक निर्णय आउनुपर्छ जुन अहिलेसम्म हामीलाई आएको छैन।’
सरकारबाट औपचारिक निर्णय आएपछि पनि उनीहरुलाई स्वेदश फर्काउन २/३ दिन लाग्ने बताए। ‘नेपाल आउन आवेदन दिएका विद्यार्थी चीनको विभिन्न सहरमा हुनुहुन्छ,’ लम्सालले भने, ‘नेपालबाट लैजाने औपचारिक निर्णय आएपछि पनि उहाँहरुलाई विमानस्थलसम्म ल्याउने र चीनसँग उडान अनुमति लिने लगायतका काम गर्न २/३ दिन लाग्छ ।’
हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ताको जिम्मेवारी पाएका राजेन्द्रकुमार पौडेलले आफूलाई यसबारे खासै जानकारी नभएको बताए। ‘म आजमात्रै प्रवक्ताको जिम्मेवारी सम्हाल्दैछु,’ उनले भने, ‘यसबारे मलाई खास जानकारी छैन।’
यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालेका यमलाल भुसालले आफू अहिले अर्थ मन्त्रालयमा सरुवा भएकाले २/३ दिनदेखि यसबारे जानकारी लिन नपाएको बताए ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार नेपाली विद्यार्थी स्वदेश ल्याउनेबारे बैठक बसेको थियो। उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री र मुख्यसचिवलगायतका अधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा आलीले भक्तपुरका ४ ठाउँमा राख्नेगरी व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
चीनबाट ल्याइने नेपालीलाई शिवपुरी, भक्तपुरका इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइनस्थल व्यवस्थित गरी राख्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए।
चीनका नेपाली विद्यार्थीको उद्धारमा ढिलाइ भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना नागरिकलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन आइतबार सरकारलाई निर्देशन दिएको थियो। नेपाली विद्यार्थी स्वदेश ल्याउन के कुराले अप्ठ्यारो पारेको हो भन्ने बुझ्न सकिएको छैन। यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने चीनबाट फिर्ता गरेर ल्याइने नेपाली राख्न अस्पतालको व्यवस्था गरिसकेको बताउँछ ।
काठमाडौं उपत्यकाका ३६ वटा अस्पतालमा आइसोलेनका लागि १ सय ४७ शय्या तयारी अवस्थामा रहेको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले जानकारी दिए।
थप तयारीबारे छलफल गर्न आज अस्पतालका प्रतिनिधिसँग मन्त्रालयले छलफल गर्दैछ। उनले भने, ‘चीनबाट आउने सबै जना स्वस्थ हुन् तर यदि आवश्यक पर्यो भने अस्पतालहरु तयारी अवस्थामा छन्।’
यद्यपि वुहानमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी फागुन ३ गते जहाज लैजाने विषयमा छलफल भएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
‘विद्यार्थी उद्धारका लागि वाइडबडी जहाज पठाउने निश्चित भएको छ,’ खड्काले भनिन्, ‘अहिलेसम्म फागुन ३ गते चीनको वुहान जहाज पठाउने गरी तयारी भएको छ।’