काठमाडौं— पाँचौ दादुरा रुवेला खोप अभियान २०७६ सुभारम्भ भएको छ।
काठमाडौं आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अभियानको सुभारम्भ गरे।
पहिलो चरण अर्थात फागुन महिना भर प्रदेश नम्बर १,२ र ५ का ३५ जिल्लामा यो अभियान सञ्चालन हुनेछ।
जसअन्र्तगत ती जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई दादुरा रुवेला खोप दिइने छ। दोस्रो चरण अगामी चैतमा सञ्चालन हुनेछ।
परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले दोस्रो चरण अन्र्तगत चैत महिनामा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४२ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने जानकारी दिए।
अभियानअन्र्तगत देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ।
डा शर्माले भने, ‘झापादेखि कञ्चनपुरसम्मका १८ जिल्ला (चितवन र नवलपरासी बाहेक) का जिल्लाका बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाइने छ।’
जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाइने उनले बताए।
नेपालमा पोलियोको शून्य अवस्था छ। सन् २०१० देखि पोलियो रोगको नयाँ बिरामीको नभेटिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।
नेपालमा पोलियो उन्मुलनको अवस्था रहेकोले जोखिम मानिएका जिल्लामा दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाउन लागिएको परिवार कल्याण महाशाखाले जनाएको छ।
अभियान नेपाल सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ र रोटरी क्लब र खोपका लागि अन्तराष्ट्रिय एलाइन्स गाभीको सहकार्यमा सञ्चालन गरिएको हो।
अभियानमा ५६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
खोप अभियानका लागि महाशाखाले ३ लाख २२ हजार भाइल दादुरा रुवेला भाइल र एक लाख ७ हजार पोलियो भाइल खरीद गरेको छ।
अभियानमा स्वास्थ्य मन्त्रालयले ५ हजार सुपरभाइजर, ९ हजार स्वास्थ्यकर्मी र एक लाख स्वयम्सेवक परिचालन गरिएको बताइएको छ। अभियान अन्तर्गतका ५० हजार खोप केन्द्रको व्यवस्था गरिएको छ।
अभियानको औपचारिक उद्घाटन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले ७५३ पालिकामै अभियान पु¥याउनुपर्ने बताए। उनले असर र स्वस्थ नागरिक निर्माणका लागि आफ्ना बालबालिकालाई खोप अभियानका सहभागि गराउन आग्रह गरे।
स्वास्थ्य सचिव खगराज बरालले सचेतभन्दा पनि पहुँच बाहिर रहेका, कामका सिलसिलमा बसाइसराई गरिरहने जनताका बालबालिकालाई समेट्नुपर्ने बताए।
उनले बालअधिकारको अन्र्तराष्ट्रिय महासन्धिका चार पिलरमध्ये बाँच्न पाउने पहिलो अधिकार भएको भन्दै सबै बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरे।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोस भ्यान्देलेयर र युनिसेफका प्रतिनिधिले अभियानले दादुरा निवारण गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने विश्वास व्यक्ति गरे।
अभियानमा कोही पनि बालबालिका दादुरा खोप लगाउनबाट बञ्चित नहुन् भनेर गाउँगाउँबाट खोजेर बालबालिकालाई खोप दिइने छ।
सन् २००४ मा पहिलो पटक अभियान सञ्चालन भएको थियो। सामान्यतः हरेक चार वर्षमा हुने यो अभियान सन् २००८, २०१२, २०१६ मा सञ्चालन भएको थियो।
पछिल्लो समय देशका विभिन्न भागमा दादुराको महामारी फैलिरहेको छ भने संक्रमित अधिकांश बालबालिकाले दादुराको खोप नै पाएका छैनन्।
दादुराबाट बच्न बच्चा ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा खोप लगाउनुपर्छ। अहिले करिब ७० प्रतिशत बालबालिकासम्म दादुरा विरुद्धको खोपको पहिलो मात्राको पहुँच पुगेको छ।
दोस्रो मात्रा लिने बालबालिका ७३ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ। दादुराको खोप पहुँच पनि ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ।
सरकारले अभियानबाट दादुरा रुवेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पु¥याई दादुरा रुवेला निवारण गर्ने उद्देश्य राखेको छ। प्रत्येक १० लाख जनसंख्यामा ५ जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ।
विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सन् २०२० सम्ममा दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो। संगठनले हालसालै यसको समय थप गरेर २०२३ मा निवारण गर्ने निर्णय गरेको छ।