काठमाडौं– कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धारका लागि पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको जहाज शनिवार जाने भएको छ। टोलीमा क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली खटिने भएको छन्।
नेपालीको उद्धार गर्न चीन जाने टोलीका सदस्य टुंगो लागे पनि नाम भने सार्वजनिक गरिएको छैन।
नेपाल लाइभलाई प्राप्त जानकारीअनुसार वाइडबडी जहाज पाकिस्तानी आइपी पाइलट यावर कमलको नेतृत्वमा चीन जाने भएको छ। साथै एक वरिष्ठ पाइलट र एक को–पाइलट पनि जहाजमा रहनेछन्।
चीनका विभिन्न सहरमा रहेका नेपाली नागरिकलाई वुहानमा भेला गराई नेपाल ल्याइने छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् त्यहाँका १ सय ८० नेपालीको शनिबार उद्धार गर्न लागिएको हो।
नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो ३ बजे हुवेईका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने सेड्युल तय भएको छ।
टोलीमा ३ जना पाइलट र ७ जना क्रु मेम्बर रहनेछन् भने १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहने छन्। सो टोलीमा ४ जना नेपाली सेनाका चिकित्सकसमेत रहने तय भएको छ।
विमान चार्टर गरी नेपालीको उद्धार गर्न लागिएको हो। विमानको चार्टर भाडा प्रतिघन्टा १८ हजार डलर कायम गरिएको छ।
चीन उडान गरिसकेपछि आइकाओको नियमअनुसार ४८ घन्टा जहाज अन्य गतव्यको उडान गर्न पाउनेछैन।