काठमाडौं – राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजले सम्बन्धनका लागि दिएको निवेदन दर्ता गरेको छ। बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले दिएको निवेदन आयोगले दर्ता गरेको हो।
आयोगले दर्ता नम्बर ३७० मा बिएन्डसीको निवेदन दर्ता गरेको छ।
बिएन्डसीले बिहीबार बुझाएको निवेदन गत मंसिरमा दर्ता नभई फिर्ता भएकै निवेदन हो। मंसिर १५ गते आवश्यक कागजात नपुगेको भन्दै फिर्ता भएकै निवेदन अहिले बुझाउँदा दर्ता भएको बिएन्डसीका सञ्चालक प्रसाईं बताउँछन्।
‘पहिला यही निवेदन दिँदा दर्ता नै गर्न मानेन्। तर अहिले त्यही निवेदन बुझाउँदा दर्ता भयो,’ उनले भने, ‘पहिला मलाई किन फिर्ता गरियो? किन निवेदन दर्ता गरिएन? यसमा केही न केही रहस्य त छ नि।’
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बिएन्डसीको निवेदन दर्ता गरिएको स्विकार गर्दै भने, ‘विगतमा उहाँले निवेदन यहाँ नछाडी आफैं बोकेर जानु भएको थियो। त्यो भएर दर्ता भएको थिएन। अहिले निवेदन यही छाड्नु भयो। त्यही भएर दर्ता गरेका छौं।’
उनले निवेदन दर्ता भएपछि आयोगले चिकित्सा शिक्षा ऐन अनुसार प्रक्रिया अगाडि बढाउने बताए।
‘अब हामी सबै कागजपत्र, मापदण्ड तथा पूर्वाधार लगायतका विषयमा अध्ययन गरेर यो विषयमा आवश्यक निर्णय गर्छौँ,’ उनले भने।
उनले प्रसाईंको निवेदनप्रति आयोग यूर्टन भयो भन्ने कुरा गलत रहेको पनि बताए। ‘आयोगमा जो कोहीले पनि आएर निवेदन दिन सक्छ,’ उनले भने, ‘निवेदन दर्ता भएपछि कानुन अनुसार काम अगाडि बढ्ने हो। तर, निवेदन दर्ता गरेर आयोगले गलत गर्यो। आयोग नै यूटर्न भयो भन्नु गलत हो। हामी कानुन अनुसार नै काम गर्छौं।’
विगतमा निवेदन रोकेर उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप प्रसाईंले लगाएका छन्। उक्त विषयमा डा गिरीले आफूमाथि गलत आरोप लगाइएको बताए।
घुसको आरोपपछि डा गिरीले प्रसाईंमाथि काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका थिए भने भक्तपुर जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारको निवेदन दिएका थिए।
भक्तपुर प्रशासनले प्रसाईंलाई साधारण तारेखमा रिहा गरेको छ।
प्रसाईंले आफू काम विशेषले भारत गएको समयमा फरार भएको भन्दै गलत हल्ला चलाइएको बताए।
भक्तपुर प्रसासनले साधारण तारेखमा रिहा गरेपछि प्रसाईं बिहीबार निवेदन बोकेर आयोगमा पुगेका थिए।
