दीपक घिमिरे
बुटवल - बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन बन्ने भएको छ। १० तलाको उक्त नयाँ भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेको छ।
प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
अस्पतालको नयाँ भवनको डिजाइन र गुरुयोजनाबारे शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ।
छलफलमा मुख्यमन्त्री शंकर पोखरेल सहित आन्तरिक मामिला तथा कानुन, भौतिक पुर्वाधार, सामाजिक विकास मन्त्री तथा बुटवल उपमहानगरपालिकाका प्रमुख, योजना आयोगको उपाध्यक्ष, मुख्य न्यायधिबक्ता, प्रमुख सचिव, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष, प्रमुख मेडिकल सुपरिटेण्डेन तथा मन्त्रालयका सचिवहरु सहभागि थिए।
अस्पतालको गुरुयोजना अनुसार लुम्बिनी प्रादेशिक अस्पताल सुविधासम्पन्न १० तले भवन निर्माण गर्ने योजना छ। गुरुयोजनाअनुसार अस्पतालको संरचना निर्माणका लागि ७ अर्बको लागत अनुमान गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन डा राजेन्द्र खनालले जानकारी दिए।
सरकारले ३ महिनामा डिपिआर निर्माणको काम सकेर ३ वर्ष भित्रमा अस्पतालको निर्माण कार्य सक्ने योजना लिएको छ। अस्पताल निर्माणका लागि आवश्यक बजेटका लागि सरकारले छलफल पनि अगाडि बढाएको छ।
मेसु खनालका अनुसार अस्पताल १२ सय शय्याको हुनेछ। भवनको अगाडिको भागमा अत्याधुनिक ओपिडि, ईमरजेन्सी, ईन्डोर सेवा लगायत रहने छ। साथै विशिष्टीकृत ग्याष्ट्रो, न्युरो, कार्डियो लगाएतका सवै विशेषज्ञ सेवा प्रदान गरिने पनि मेसु खनालले जानकारी दिए।
हालका ३ बटा भवनमा डाईग्नोष्टिक एण्ड रिसर्च, प्रसूति र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिने छ।
अस्पतालको अग्र भाग देखिने गरी बाउन्ड्री बनाउने कामको थालनी केहि दिनमा शुरु हुन लागको मेसु खनालले जानकारी दिए। अस्पताललाई बुटवलको चिनारीको रुपमा विकास गर्न लागिएको बताइएको छ।
भवनको माथि हेलिप्याड समेत रहने छ।


