काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले डाक्टरमाथि गालीगलौज गरेको आरोप लागेको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतको कार्यकक्षमा सचिव बरालले डाक्टरहरुप्रति गालीगलौज गरेको भन्दै एक डाक्टरले नेपाल चिकित्सक संघमा निवेदन दिएका छन्।
स्वास्थ्य बिमा बोर्डका सदस्य तथा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको क्लिनिकल फर्माकोलाजी विभागका प्रमुख डा सतिशकुमार देवले सचिव बरालबाट आफू दुव्र्यवहारमा परेको र डाक्टरहरुमाथि गालीगलौज गरेको भन्दै निवेदन दिएका हुन्।
डा देवले आफूलाई न्याय दिलाउन र चिकित्समाथि लागाइएको आँचको रक्षा गर्न निवेदनमा उल्लेख गरेका छन्।
निवेदनमा उल्लेख भए अनुसार सचिव बरालले स्वास्थ्य राज्यमन्त्रीको कार्यकक्षमा गालीगलौज र दुव्र्यवहार गरेका हुन्। ‘स्वास्थ्य बिमा सम्बन्धि कार्यक्रमको छलफल हुने क्रममा स्वास्थ्य सचिव खगराज बरालले मलाई व्यक्तिगत रुपमा गालीगलौज गरी चिकित्सकहरु बिक्ने र उहाँ शिक्षा सचिव भएको बेलामा ४/५ जना प्राध्यापक उहाँलाई ढोग्न आउने गरेको भन्ने जस्ता तल्लो स्तरको टिप्पणीहरु गरेको यहाँ समक्ष जानकारी गराउन चाहन्छु,’ चिकित्सक संघका अध्यक्षलाई संवोधन गरि लेखिएको निवेदनमा भनिएको छ, ‘यसअघि पनि उहाँले औषधि व्यवस्था विभागका कर्मचारी, कार्यक्रमका आगन्तुक र पत्रकारमाझ चिकित्सकहरु सजिलै बिक्छने भन्ने कुरा बारम्बार दोहोर्यनु भएको थियो।’
उनले सचिवबाट डाक्टरमाथि सार्वजनिक स्थान र स्वास्थ्य राज्यमन्त्रीकै कार्यकक्षमा यस्ता अभिव्यक्ति आउनु अशोभनिय र निन्दनिय भएको पनि निवेदनमा उल्लेख गरेका छन्।
