काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीलाई सरकारले शनिबार स्वदेश ल्याउँदैछ। यसका लागि आवश्यक तयारी पुरा भएको सरकारले जनाएको छ।
उनीहरुको उद्धारका लागि नेपालबाट १७ जनाको टोली चीन जाँदैछ। टोलीमा ४ जना स्वास्थ्यकर्मी, ३ पाइलट, ७ जना क्रु मेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहनेछन्।
नेपाल एयरलाइन्सको वाइडबडी विमान मार्फत १ सय ८५ जना नेपालीलाई उद्धार गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
टाेली नेपाल वायुसेवा निगमको जहाजबाट दिउँसाे २ : ४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छ। एयरलाइन्सको वाइडबडी ए ३३० जहाज वुहान जान लागेकाे हाे। जहाज शनिबार राति २ बजे काठमाडाैं आइपुग्ने छ। चीन जाने टाेलीमा कमान्डर पाइलट यावर कमल, पाइलट महाेमद आरिफ, काेपाइलट सुनिल श्रेष्ठ, ६ जना विमान परिचारिका २ जना प्राविधिक इन्जिनियर, एकजना डिस्पाचर, एकजना लाेडमास्टर र चारजना नेपाली सेनाका डाक्टर रहेका छन्।
चीनबाट फर्केकाे जहाज विमानस्थलमा अवतरण गरेपछि सिधै हेलिकाेप्टर पार्किङ वेकाे रिमाेट पार्किङस्थमा लगिने छ। उद्धार गरेर ल्याइएकाहरुलाई कसैसँग भेट्न दिइने छैन। उनीहरुलाई सुरक्षाकर्मीले नै भक्तपुरकाे खरिपाटी पुर्याउने छन्।
यसका लागि पाँच वटा बस र पाँच वटा एम्बुलेन्स परिचालन हुनेछ।
सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्छ र दैनिक स्वास्थ्य परीक्षण हुन्छ। परीक्षणका क्रममा कुनै स्वास्थ्य समस्या देखा परे तत्काल आइसोलेसन वार्डका लागि अस्पताल पठाइने स्वास्थ्य मन्त्रालय सहप्रवक्ता सागर दाहालले बताए। उक्त अवधिभर अभिभावकले कसैलाई पनि भेट्न नपाउने मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनका लागि २५ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ।
सरकारले शुक्रबार सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पुर्याउने भन्ने बारेमा शुक्रबार पूर्वाभ्यास गरेको छ। प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एम्बुलेन्स, प्राविधिक टोलीसहित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो।
स्वास्थ्य मन्त्रालयले खरिपाटीमा रहँदा ध्यान दिनुपर्ने विषय तयार पारेको छ।
यी हुन् खरिपाटीमा बसोबास गर्दा ध्यान दिनुपर्ने बिषयहरु
भक्तपुर, खरीपाटीमा क्वारेन्टाईन केन्द्रको ब्यवस्था गरिएको छ।
क्वारेन्टाईनमा लगभग ६० कोठाहरुमा उचित दुरिको फरकमा एक जना देखि तीन जना सम्मको सामूहिक बसोबासको ब्यवस्था गरिएको छ। लगभग ६ जनाले एक शौचालय प्रयोग गर्ने गरी ब्यवस्था गरिएकोछ।
क्वारेन्टाईनमा रहदा तपाईको सुबिधाको लागि खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, Infection Prevention and Control को सबै ब्यवस्थापन गरिएकोछ ।
स्वास्थ्य टोलि आवश्यकता अनुसार चौबिसै घण्टा सेवामा रहेनछन।
विशेष स्वास्थ्य जाँचको लागि क्लिनिकको व्यवस्था गरिनेछ।
व्यक्ति स्वंयमले स्व-जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुइपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ। हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मामिटर उपलब्धछन।
हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, हेण्डस्यानीटाइजर आदि उपलब्ध छन।
अन्य जाँच गर्ने सरसामाग्री जस्तै, इन्फ्रारेड थर्मोमिटर, स्व–जाँच गर्ने थर्मोमिटर, व्यक्तिगत सुरक्षाकवच, ज्वरोको अभिलेख राख्ने खाता, कुनै कुराआवश्यक परेमा माग गर्नको लागि र रोगको लक्षण देखिएमा तत्कालै जानकारी दिन र सम्पर्क गर्नको लागि ईमरजेन्सि फोन नम्बरआदिको उचित व्यवस्था गरिएकोछ।आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।
आवस्यकता अनुसार मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्शदिने व्यवस्था गरिएको छ। आफुलाई त्यस्तो कुनै समस्या भएमा तुरुन्तै स्वास्थ्य कर्मचारीलाई खबर गर्नुहोस्।
आवश्यकता अनुसार मेडिकल वा अन्य सरसामाग्री सहज रुपमा उपलब्ध गराईनेछन।
तपाईले नियमीत सेवन गरिरहेको औषधीहरू सकिएमा स्वास्थ्य कर्मचारीलाई समयमा नै जानकारी गराउनुहोस, तुरुन्तै उपलब्ध गराईनेछ।
तपाईहरु सबैको प्रारम्भीक Throat Swab जाँच क्वारेन्टाईनमा पुगेको २४ घण्टा भित्र र अर्को जाँच १४ दिनमा गरिनेछ।
क्वारेन्टाईन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ।
क्वारेन्टाईनमा रहदा तपाईहरुले अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाउनुहुने छैन।
तपाँईहरुले त्यहाँ दिईएको हरेक नियम (Room rules, rest room rules, food rules, timing rules) हरुको पूर्णरुपमा पालना गर्नुपर्नेछ।