काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य पुरा नहुने संकेत देखिएको बताएका छन्।
प्रतिनिधि सभामा सरकारको दुई वर्षको उपलब्धी सार्वजनिक गर्दै उनले चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण भिजिट नेपाल २०२० मा असर पुग्ने बताए। कोराना भाइरसले अन्तराष्ट्रिय स्तरमै प्रभाव पारेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘छिमेकी राष्ट्र चीनमा यो भाइरस देखिएको कारण भ्रमण वर्षमा प्रत्यक्ष असर पर्ने देखिएको छ।’
सरकार २० लाख पर्यटकको आगमन गराउन पुरा प्रयास गरिरहेको उनले बताए। ‘भूकम्प गएको को वर्ष ५ लाख ९० हजारमा सीमित पर्यटक गत वर्ष करीब ११ लाख र यस वर्ष १२ लाख हारहारी पुगेको छ। भ्रमण वर्षमा २० लाख पर्यटकको आगमन गराउन सारा प्रयास केन्द्रित गरिएको छ’, उनले भने ।
चीनको हुबेईबाट फर्कने नेपालीहरुका लागि सरकारले उचित प्रबन्ध मिलाएको उनले जानकारी दिए। कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर भएको उनले बताए। नेपाली विद्यार्थीलाई सुरक्षित साथ राखेको भन्दै प्रधानमन्त्री ओलीले चीन सरकारलाई धन्यवाद दिए भने संक्रमण फैलन नदिन गरेको प्रयास प्रति प्रशंसा गरेका छन्।
आफु नेतृत्वको सरकारले स्वास्थ्य बिमालाई विस्तार गरेको उनले बताए।
उनले भने, ‘मैले सत्ता सम्हालेको वर्षमा स्वास्थ्य बिमा जम्मा १५ जिल्लामा लागू भएको थियो। अहिले ४९ जिल्लाका २६ लाख १७ हजार ६ सय ७५ जना लाभान्वित भएका छन्।’ अस्पतालहरुमा ९ हजार शैय्या उपलब्ध रहेको प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा जानकारी गराएका छन्।
शतप्रतिशत जनसंख्या आधारभूत स्तरको सरसफाईको पहुँचमा रहेको उनको दाबी छ। दक्षिण एसियामा नेपाल पहिलो खुला दिसामुक्त मुलुक घोषणा हुनु पनि सरकारको उपलब्धी रहेको उनको भनाई छ।