काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभामा सरकारको दुई वर्षको उपलब्धि सार्वजनिक गरेका छन्। प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको उपलब्धिको विवरणमा स्वास्थ्य बिमाका विषयमा भने सफलता देखाउन चलाखी गरेको पाइएको छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधी सभामा प्रस्तुत गरेको विवरण अनुसार उनले सत्ता सम्हालेको वर्षमा नेपालमा स्वास्थ्य बिमा कार्यक्रम जम्मा १५ जिल्लामा लागू भएको थियो।
प्रधानमन्त्रीले २०७४ फागुन ३ गते सत्ता सम्हालेका हुन्। तर, उक्त अवधिमा नेपालका २७ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भइसकेको थियो।
स्वास्थ्य बिमा बोर्डको तथ्यांक अनुसार २०७४ असोज महिनासम्म मात्र नेपालका १५ जिल्लामा बिमा कार्यक्रम सुरु भएको थियो। तर, असोज महिनामा एकैपटक ७ जिल्लामा बिमा कार्यक्रम विस्तार भएको छ। असोज महिनामा झापा, सुनसरी, रोल्पा, सुर्खेत, सोलुखुम्बु, सिन्धुली र बर्दियामा बिमा कार्यक्रम सुरु भएको थियो।
यो प्रधानमन्त्री ओलीले सत्ता सम्हाल्नुभन्दा पाँच महिना अगाडिको कुरा हो। असोज अघिका १५ र यी ७ जिल्ला गरी ०७४ असोज मसान्तसम्ममा २२ जिल्लामा बिमा कार्यक्रम सुरु भइसकेको बिमा बोर्डको वार्षिक प्रतिवेदन २०७४/७५ले देखाउँछ।
यस्तै सोही प्रतिवेदन अनुसार प्रधानमन्त्रीले सत्ता सम्हाल्नुभन्दा अगाडि अन्य थप ५ जिल्लामा समेत कार्यक्रम विस्तार भएर २७ जिल्लामा बिमा कार्यक्रम पुगेको देखिन्छ। प्रतिवेदन अनुसार ०७४ असोजदेखि फागुन १ गतेसम्म खोटाङ, भोजपुर, महोत्तरी, रामेछाप र प्युठानमा बिमा कार्यक्रम विस्तार भएको छ।
सरकारकै निकायको प्रतिवेदनमा प्रधानमन्त्रीले सत्ता सम्हाल्नुभन्दा अघि २७ जिल्लामा बिमा कार्यक्रम सुरु भएको देखाएको छ। तर, प्रधानमन्त्री ओलीको उक्त विवरणमा सत्ता सम्हालेको वर्ष २०७४ मात्र भनेर सफलता देखाउन बठ्याईं गरिएको छ।
बिमा बोर्डका अनुसार ०७४ फागुन ३ गते अघि बिमा कार्यक्रम लागू भएका २७ जिल्ला
इलाम, झापा, सुनसरी, सोलुखुम्बु, खोटाङ, भोजपुर, महोत्तरी, भक्तपुर, चितवन, सिन्धुली, मकवानपुर, रामेछाप, कास्की, तनहुँ, गोरखा, म्याग्दी, बाग्लुङ, पाल्पा, बर्दिया, रोल्पा, प्युठान, सुर्खेत, जाजरकोट, जुम्ला, कैलाली, अछाम र बैतडी हुन्।
२०७४ को असार मसान्तसम्म अर्थात आर्थिक वर्ष २०७३/७४ मा मात्र १५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका थिए। त्यसपछि आर्थिक वर्ष ०७४/७५मा बिमा कार्यक्रमलाई दुई चरणमा ३९ जिल्लामा विस्तार गर्ने कार्यक्रम बनाइएको थियो।

सोही अनुसार बिमा बोर्डले असोजमा ७ जिल्ला र दोस्रो चरणमा त्यसपछिका महिनामा १७ जिल्लामा कार्यक्रम विस्तार अघि बढाएको हो। तर, असार मसान्तसम्म ३६ जिल्लामा मात्र बिमा कार्यक्रम विस्तार भएको छ।
०७६ असारभित्र सबै जिल्लामा विस्तार भएन
प्रधानमन्त्री ओलीले बिमा कार्यक्रम ४९ जिल्लामा विस्तार भएको भनेर उपलब्धिमा उल्लेख गरे पनि यो कार्यक्रम गत असार भित्र नै सबै जिल्लामा विस्तार भइसक्नु पर्ने थियो। केपी ओली नेतृत्वको सरकार गठन भएपछि ल्याइएको बजेटले पनि आर्थिक वर्ष २०७५÷७६ भित्र सबै जिल्लामा बिमा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको थियो। सोही अनुसार बिमा बोर्डले कार्यक्रम विस्तार गर्ने लक्ष्य राखेको थियो।
हेरौँ बोर्डले बनाएको लक्ष्य

उक्त लक्ष्य अनुसार ०७६ असार भित्र सबै जिल्लामा बिमा कार्यक्रम विस्तार भइसक्नु पर्ने थियो। तर, निर्धारित समयभन्दा ८ महिना बढी समय पुग्दा पनि बल्ल ४९ जिल्लामा मात्र बिमा कार्यक्रम विस्तार भएको छ।