तस्बिर सौजन्य : डा सबिर श्रेष्ठ
काठमाडौं- चीनमा रहेका नेपालीलाई लिन वुहान पुगेको नेपाली वायुसेवा निगमको जहाजले १७५ जना नेपालीलाई मात्र लिएर फर्किएको छ।
वुहानबाट १८५ नेपालीको उद्धार गर्ने तयारी भए पनि अन्तिम समयमा १० जना भने चीनमा नै बसेका छन्। १८५ मध्ये ४ जनाले वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनालाई भने ज्वरो देखिएको छ।
ज्वरो देखिएपछि वुहान विमानस्थलका अधिकारीले उनीहरुलाई नेपाल जानबाट रोकेको छ। नेपालीलाई लिन शनिबार दिउसो डाक्टरसहित १७ जनाको टोली वुहान गएको थियो।
चीनस्थित नेपाली दुतावासका अनुसार १७५ जनामध्ये १७० जना विद्यार्थी, २ जना घुम्न गएको व्यक्ती, १ जना रोजगारका लागि पुगेका र २ जना बालबालिका छन्।
दुतावासका अनुसार चीनका विभिन्न ६ सहरबाट वुहानमा जम्मा भएका नेपाली फर्किएका हुन्।
विमान काठमाडौंमा ४ बजे आइपुग्ने बताइएको छ।

निगमको वाइडवडी ३३० जहाजले वुहानबाट उनीहरु ल्याइरहेको हो।
उनीहरुलाई नेपाल ल्याएपछि त्रिभुवन विमानु्थलबाट सोझै भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ।

सरकारले उनीहरुलाई १५ दिनसम्म राख्नका लागि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ।
क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको छ।
क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्थापन गरिएको छ। ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ।

