काठमाडौं– कोरोना भाइरसको इपिसेन्टर चीनको वुहानबाट उद्दार गरेर १७५ नेपालीलाई काठमाडौं ल्याइएको छ । वुहानबाट उडेको विमान आज बिहान ३.३८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।
वुहानबाट १ सय ८५ नेपालीको उद्धार गर्ने तयारी भए पनि अन्तिम समयमा १० जना भने चीनमा नै बसेका छन्। १ सय ८५ मध्ये ४ जनाले वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनामा ज्वरो देखिएका कारण नेपाल नल्याइएको हो।
उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।
नेपालीलाई लिन शनिबार दिउँसो नेपाली सेनाका ४ डाक्टरसहित १७ जनाको टोली वुहान गएको थियो।
विमानस्थलबाट उनीहरुलाई पाँच वटा गाडीमा राखेर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा लगिएको थियाे। गाडीलाई प्रहरीले विमानस्थलदेखि खरिपाटीसम्म स्कर्टिङ गरेर खरिपाटी पुर्याएको थियो।
उनीहरुलाई त्यहाँ १५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ।
क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको छ।
क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्थापन गरिएको छ।
ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ।