रसुवा- कोरोना परीक्षणका लागि रसुवागढी नाकामा स्थापना भएको अस्थायी संरचनालाई बागमती प्रदेश सरकारले स्थायी हेल्थ डेस्क बनाउने भएको छ। रसुवागढी नाकाको अवलोकनपछि प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सीमा वारपार गर्ने मानिसहरूको चेकजाँचका लागि स्थायी हेल्थ डेस्क निर्माण गर्ने जानकारी दिएका हुन्।
नाकाबाट भित्रने मानिसहरूको प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि स्थायी हेल्थ डेस्क आवश्यक देखिएकाले प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन्।
हाल प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन थालेको समेत मन्त्री दुलालले जानकारी दिए। अबका केही हप्तामा स्थायी संरचना निर्माणको काम सुरु गरिने उनको भनाइ छ।हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश अस्पतालबाट चिकित्सकसहितको टोली खटाउनले निर्णय प्रदेश सरकारले गरेको उनले जानकारी दिए।
कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि हाल उक्त नाका बन्द गरिएको छ। ‘रसुवागढी नाकाबाट भित्रने मानिसमा कुनै संक्रमण छ/छैन भनी पहिचान गर्ने व्यवस्था गर्छौं,' उनले भने, 'नाकामा अब स्थायी रूपमा नै स्वास्थ्य परीक्षण गरिनेछ।'
भिडियो