काठमाडौं- चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि संघर्षरत डा गोविन्द केसीले विद्यार्थीसँग अवैध रुपमा शुल्क असुल्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्ने कदम चाल्न चिकित्सा शिक्षा आयोगलाई ध्यानाकर्षण गराएका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै केसीले विद्यार्थीसँग अवैध रुपमा असुलिएको रकम फिर्ता नगर्ने तथा नयाँ विद्यार्थीसँग कुनै पनि बहानामा अवैध शुल्क लिन खोज्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्ने कदम चाल्न चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराएका हुन्।
यस्तो गम्भीर आर्थिक अपराध भइरहँदा रमिते बनेर बस्ने हो भने आयोगका अध्यक्ष रहेका प्रधानमन्त्री र उपाध्यक्षको नैतिकता र कार्यक्षमतामाथि पुनः एक पटक प्रश्न उठ्ने निश्चित भएको विज्ञप्तिमा उल्लेख छ।
चिकित्सा शिक्षा ऐनलाई जनता र विद्यार्थीमुखी हुने गरी संशोधन गर्ने लगायत विगतमा भएका सबै सम्झौताहरु कार्यान्वयन गर्न उनले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन्।
यदि त्यसो नभएमा कुनै पनि बेला आन्दोलनका कडा कार्यक्रमहरु ल्याउने समेत उनले चेतवनी दिएका छन्।