काठमाडौं- वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई बैंक अफ काठमाडौंले १ करोड रुपैयाँ सहयोग गरेको छ।
बैंकको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट गभर्नर चिरञ्जीवी नेपालले डा कोइरालालाई चेक हस्तान्तरण गरेका छन्।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत उक्त रकम उपलब्ध गराएको हो। उक्त रकम अस्पतालको आइसियु कक्ष निर्माण गर्न खर्च हुने छ।
डा कोइरालाको अध्यक्षतामा रहेको संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले काठमाडौं सहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने छ।
किओच अध्यक्षमा डा भगवान कोइराला रहेका छन् भने अन्य सदस्यहरुमा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, विरेन्द्रबहादुर बस्नेत, डा ज्योतिन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा छन्।
किओचले सातवटै प्रदेशमा गैर नाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको डा कोइरालाले जानकारी दिए।
अस्पताल निर्माणका लागि किओचले लगानी संकलन गर्ने बताइएको छ।
सातवटै प्रदेशमा अस्पताल निर्माणका लागि २ अर्बभन्दा बढी लागनी लाग्ने अनुमान गरिएको छ। सबै अस्पताल आगामी सन् २०२२ भित्र निर्माण भइसक्ने लक्ष्य लिइएको छ।
किओचले सुरुमा राजधानीमा एक सय शय्याको अस्पताल निर्माण गर्ने छ। त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए।