काठमाडौं- भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ र चीनको वुहानमा रहेका ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण नरहेको पुष्टि भएको छ।
चीनको वुहानबाट उद्धार गरेर ल्याइएका सबै नेपालीको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘उहाँहरु सबै स्वस्थ हुनुहुन्छ । कोरोना भाइरस परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको छ। यो खुशीको कुरा हो।’
उनीहरु सबैको कोरोना परीक्षणका लागि मन्त्रालयले फागुन ४ गते नमुना संकलन गरेको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन दिन लगाएर उनीहरुको नमुना परीक्षण गरेको मन्त्रालयले जनाएको छ। दोस्रो चरणको परीक्षण १४औं दिनपछि पुनः गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
योसँगै कोरोनाको आशंकामा परीक्षण गर्नेको संख्या २ सय १० पुगेको छ। जसमध्ये हालसम्म एक जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।
चीनबाट फर्किएका १ सय ७५ जना सबै नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ। नेपाली लिन गएका पाइलट सहितको अन्य क्रु टोलीलाई नगरकोटमा क्वारेन्टाइनका लागि राखिएको मन्त्रालयले जनाएको छ।
वुहानमा रहेका ६ जना नेपाली स्वस्थ
सरकारले यही फागुन ३ गते १ सय ८५ जनाको उद्धार गर्ने भनिए पनि १ सय ७५ जना मात्र नेपाल आएका थिए। १ सय ८५ मध्ये ४ जनाले वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनालाई ज्वरो देखिएका कारण आउन पाएका थिएनन्।
चीनमा रहेका ६ जना नेपाली हाल स्वस्थ रहेको मन्त्रालयले जनाएको छ। उनीहरुको कोरोना परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उनीहरु सबै जनामा कोरोनाको संक्रमण नरहेको मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए।