काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मदरल्यान्ड हेल्थ केयर प्रालिलाई २ लाख जरिवाना तिराएको छ। अधिकतम बिक्री मूल्यभन्दा बढी मूल्य असुलेर औषधि बेचेको आरोपमा विभागले सो जरिवाना गरेको हो।
थानकोट त्रिभुवनपार्कस्थित मदरल्यान्ड हेल्थ केयर एन्ड काउन्सेलिङ सेन्टरलाई बढी मूल्य लिएर औषधि बेचेको भेटिएपछि विभागले आर्थिक जरिवाना गरेको महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताए। बुधबार वाणिज्य विभाग, स्वास्थ्य विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेका औषधि पसलहरूमा अनुगमन गरेको थियो।
मध्यबानेश्वरमा रहेको सुश्रुत आयुर्वेद फर्मालाई पनि विभागको अनुगमन टोलीले ५ हजार रुपैयाँ आर्थिक जरिवाना तिराएको छ। उक्त औषधि पसलले खरिद बिल देखाउन नसकेको भन्दै कारबाही गरिएको विभागले जनाएको छ। बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले उपत्यकाका औषधि पसलमा अनुगमन अघि बढाएको हो।