डा अन्वेश भट्ट
बाल्यावस्थामा देखिने सबैभन्दा प्रमुख दीर्घरोग भनेको आस्थामा हो। नेपालीमा यसलाई दम पनि भनिन्छ। तर वृद्धावस्थामा हुने दम (सिओपिडी) र आस्थामामा भने फरक छ। तसर्थ आस्थामा र सिओपिडीको कुनै सम्बन्ध छैन। नेपालमा कति बच्चालाई आस्थामा छ भन्ने यकिन तथ्यांक छैन तर यो संख्या विगतभन्दा बढ्ने क्रममा छ।
आस्थामा जुनसुकै उमेरका बालबालिकामा पनि देखिन सक्छ। तर प्रायःजसो भने ५ वर्षको उमेरसम्ममा देखिन्छ।
आस्थामा कस्ता बच्चामा बढी देखिन्छ ?
आस्थामा हुनुको कुनै निश्चित कारण किटान गर्न नसकिए पनि केही जोखिम कारक भने औंल्याउन सकिन्छ। ती जोखिम कारक यीमध्ये जुनै पनि हुन सक्छन्।
- बच्चामा कुनै एलर्जी भएमा
- परिवारमा आस्थामा एलर्जीको समस्या रहेमा
- जन्मँदा थोरै तौल भएमा
- धुवाँधुलोको वातवरणमा हुर्केको भएमा
- स्तनपान नगरेको बच्चा भएमा
आस्थामाका लक्षण
– लामो समयसम्मको खोकी आस्थामाको सबैभन्दा प्रमुख लक्षण हो।
– बाहिर आवाज आउने गरी बच्चाले स्वाँस्वाँ गर्न सक्छन्।
– चाँडोचाँडो श्वास फेर्ने
– श्वास फुल्ने
माथीका सबै लक्षण एकै पटक एउटै बिरामीमा हुनु जरुरत छैन। यीमध्ये कुनै एक वा बढी लक्षण देखिन सक्छन्। साथै यी लक्षणमध्ये कुनै देखिएमा बच्चालाई चिकित्सककहाँ देखाउनु पर्छ।
आस्थामाको निदान
धेरै साना बच्चामा आस्थामाको निदान गाह्रो हुन्छ। लक्षण तथा शारीरिक जाँच नै आस्थामा निदानको मुख्य चरण हो। एक्स–रे अथवा रगतको जाँचले आस्थामाको निदान हुँदैन। पल्मुनरी फङ्सन टेस्ट आस्थामा निदानको सबैभन्दा महत्वपूर्ण जाँच हो। ५ वर्षभन्दा साना बच्चालाई यो जाँच गराउन नसकिने कारणले लक्षण र शारीरिक जाँचकै सहायताले रोग पहिचान गरिन्छ।
आस्थामाको उपचार
आस्थामाको उपचार रोगको गम्भीरता तथा उमेरको हिसाबले गरिन्छ। डाक्टरसँग बसेर उपचारको लागि सल्लाह गर्नुपर्छ। रुघा, खोकी तथा निमोनियाले आस्थामा सारो पार्न सक्छ। त्यसैले यी रोगविरुद्ध उपलब्ध निमोनिया र इन्फ्लुएन्जाको खोप लगाउनु उपयुक्त हुन्छ।
त्यसका साथसाथै इनहेलरबाट औषधि लिनु पर्नेहुन्छ। खाने औषधिभन्दा इनहेलरका औषधि बढी प्रभावकारी हुनुका साथै नराम्रा असर कम हुन्छन्। यस्ता औषधि बच्चाको सुधार हेरेर केही महिनादेखि केही वर्षसम्म लिनुपर्ने हुनसक्छ। यस्ता औषधिको प्रयोगले बच्चाको पूर्ववत समस्या तथा लक्षण क्रमशः हराउँदै गएर विस्तारै नियमित रुपमा सक्रिय जीवन बिताउन सक्छन्।
-(डा भट्ट काठमाडौं मेडिकल कलेजका बाल रोग विशेषज्ञ हुन्)