तस्बिर सौजन्य : युनिसेफ
दीपा पौडेल
प्युठान- प्युठानमा आजदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ। अभियान अन्र्तगत प्युठान जिल्लाका करिब २० हजार ८३ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ।
जसमध्ये ९ महिनादेखि २३ महिनासम्मका ६ हजार १ सय १२ र २४ महिनादेखि ५९ महिनासम्मका १३ हजार ९ सय ७१ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
पहिलो चरणमा आजदेखि फागुन १५ गतेसम्म प्युठानको मल्लरानी गाउँपालिका, नौबहिनी गाउँपालिका, झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाका सबै वडामा रहेका खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको छ।
दोस्रो चरणमा फागुन १८ गतेदेखि २६ गतेसम्म प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका र ऐरावती गाउँपालिकामा यो अभियान सञ्चालन गरिने छ।
जिल्लामा उपलब्ध जनशक्ति, नियमित खोप अभियान र अन्य प्राविधिक अवस्थाका आधारमा जिल्लामा दुई चरणमा यो अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।
पहिलो चरण अन्र्तगत १ सय ९१ खोप केन्द्रबाट ९ हजार ३ सय ४४ बालबालिकालाई खोप लगाइने छ। जसका लागि जिल्लाभर ४ सय ५० जना स्वास्थ्यकर्मी र ९ सय महिला स्वास्थ्य स्वयंसेविका र स्वयंसेवक परिचालन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२३ सम्म दादुरा निवारण गर्ने लक्ष्य लिएको छ।
मल्लरानी गाउँपालिकाबाट उद्घाटन
मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानालाई भ्याक्सिन क्यारिएर र खोपजन्य सामग्री हस्तान्तरण गरी दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु गरिएको छ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले संयुक्त रुपमा खोप सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका प्रमुख आर्चायले सबै खोप लगाउने बालबालिकाको जन्मशिद्ध अधिकार र खोप दिलाउनु अभिभावकको कर्तव्य भएको भन्दै सबै मिलेर सन् २०२३ सम्म दादुराको निवारण गर्न एकताबद्ध भएर लाग्न अपिल गरेका छन्।