डडेल्धुरा- नेपालमा कुपोषित बालबालिकाको संख्या अधिक रहेको भन्दै सरकारी तथा गैरसकारी संस्थाहरुले ठूलो रकम खर्च गरिरहेका हुन्छन्। तर पनि चाहेजति पोषणको अवस्थामा सुधार हुन नसेको गुनासो आइरहेकै हुन्छन्।
डडेल्धुरा नवदुर्गा गाउँपालिले भने आफ्नै लगानीमा पोषण चौतारी नामक नयाँ कार्यक्रम सञ्चालन गरेपछि पोषणको अवस्थामा ९७ प्रतिशत नै सुधार भएको दाबी गरेको छ।
गाउँपालिकाले दुई वर्षदेखि निरन्तर सञ्चालन गरिरहेको पोषण चौतारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ। पोषण चौतारी कार्यक्रममा महिलाले आफनो स्वास्थ्य समस्याबारे छालफल गर्ने गरेका छन्।
हजार दिनका आमाहरु बच्चा सहित सहभागी पोषण चौतरीबाट गर्भावस्थादेखि बच्चा २ वर्षको नपुगेसम्म कसरी स्वास्थ्य राख्न सकिन्छ तथा बच्चालाई पोषलो खाना कसरी बनाएर खुवाउने सिकेको स्थानीय हजार दिनका आमाहरुको भनाइ छ।
नवदुर्गा गाउँपालिका- ३ की स्थानीय गीता बोहराले भनिन्, ‘विगतमा हामी बालबच्चालाई आफूसँगैको खाना दिए हुन्छ भने सोच राखेर त्यस्तै गरिरहेका थियौँ, तर यो कार्यक्रम गाउँमा आएपछि पोषिलो खाना खुवाउँछौ।’
पोषण चौतारीका दिन जन्मदेखि २ वर्ष मुनिका बालबालिकाको वृद्धि अनुगमन गर्ने र उसको पोषणको अवस्थाबारे आमालाई जानकारी दिने, हजार दिनका आमालाई पोषण परामर्श र स्वास्थ्य शिक्षा दिने, घरायसी तथा व्यक्तिगत सरसफाइ, हात धुने, चर्पीको प्रयोगबारे स्वास्थ्य शिक्षा तथा प्रदर्शनी पोषण खानेकुरा, पोषिलो लिटो, जाउलो, खिर, प्रदर्शनी गर्ने तथा बनाउने तरिकाबारे छलफल गर्ने गरेका छन्।
बालबालिकाको नाप लिने बालभिटा वितरण गर्ने, कुपोषित बालबालिका भेटिएमा स्वास्थ्य संस्थामा जान अविभावकलाई अनुरोध गर्ने, नियमित गर्भ जाँच गर्ने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिन तथा पोषण अवस्थामा सुधार ल्याउन प्रोत्साहन स्वरुप हजार दिनका आमाहरुलाई आयोडिन नुन र अन्डा वितरण समेत गर्ने स्वास्थ्य स्वयंसेविका सीता भट्टले बताइन्। उनले भनिन्, ‘हामी दुई वर्षबाट हजार दिनका बच्चालाई पोषिलो जाउलो, खिर समूहमै खुवाउँछौ। अहिले कोही बच्चामा कुपोषण छैन।’
२ वर्ष ६ महिनासम्मको अवधिमा हजार दिनका आमा तथा बच्चामा सुधार भएको देखिएको नवदुर्गा गाउँपालिकाको दाबी छ। चालु आर्थिक वर्षको ६ महिनामै लक्ष्यको ४७ प्रतिशत पूरा भएको देखाएको स्वास्थ्य शाखा उपप्रमुख दीपेन्द्र विष्टले बताए। उनले भने, ‘हाम्रो शाखाले निर्माण गरेको कार्यक्रमले अहिले कुपोषणमैत्री गाउँपालिकातिर जाने समयमा आइपुगेका छौं।’
गाउँपालिकाभरि २५ टोलमा सञ्चालित पोषण चौतारी कार्यक्रम हजार दिनका आमालाई लक्षित गरी ल्याइएको गाउँपालिकाको आफनो कार्यक्रम हो।
स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिन तथा पोषण अवस्थामा सुधार ल्याउन प्रोत्साहन स्वरुप हजार दिनका आमाहरुलाई पालिकाले अहिले एक वर्षमा ६ पटक आयोडिन नुन र अन्डा वितरण गर्ने गर्ने गरेको छ। यसका लागि गाउँपालिकाले हरेक वर्ष ८ देखि १० लाख खर्च गर्दै आएको समाजिक विकास समिति संयोजक पदम विष्टले बताए।
पोषण चौतारी गाउँपालिकामा सञ्चालन भएपछि गाउँपालिकाको वडा नं ३ लाई जिल्लाकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । साथै पालिकाको स्वास्थ्य शाखाले गाउँपालिको कुनै एक वडालाई छिट्टै पोषणमैत्री वडा वा टोल घोषणा गर्ने तयारी समेत थालेको छ।