पोखरा -पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर (पिजी) तहको एमडी र एमएसको प्रवेश परीक्षा डाक्टरहरुले बहिष्कार गरेका छन्।
डाक्टरहरुले परीक्षाका लागि निर्धारित समयभन्दा डेढ घन्टा ढिला प्रश्नपत्र वितरण गरिएको र सो क्रममा प्रश्नपत्र समेत बाहिरीएको भन्दै परीक्षा बहिष्कार गरेका हुन्। परीक्षा बहिष्कार गर्नेमा झन्डै ५ सय जना छन्।
प्रतिष्ठानले पहिलोपटक पिजीका लागि परीक्षा लिएको हो। परीक्षा शनिबार दिउसो २ बजेबाट अमरसिंह नमुना माध्यमिक विद्यालय रामघाट पोखरामा सुरु भएको थियो। तर, सो क्रममा कुनै कक्षामा पहिले नै प्रश्नपत्र वितरण भएको र कुनैमा डेढ घन्टापछि मात्र प्रश्नपत्र वितरण भएको विद्यार्थीहरुले बताएका छन्।
ढिलो गरी प्रश्नपत्र वितरण हुँदा पहिले नै प्रश्नपत्र बाहिरीसकेका कारण परीक्षा बहिष्कार गर्नुपरेको डा हेमराज भण्डारीले जानकारी दिए।
डा हुलास अग्रवालको नेतृत्वमा परीक्षा बहिष्कार भएको हो।
प्रतिष्ठानले प्रश्नपत्र वितरणमा केही ढिला भएको स्विकार गरे पनि परीक्षाका विषयमा के हुन्छ भन्ने विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
‘यो विषयमा छलफल हुँदैछ, तपाईंलाई पछि जानकारी गराउनेछौं,’ प्रतिष्ठानका एक कर्मचारीले स्वास्थ्यखबरसँग भने।