काठमाडौं- दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेसँगै कोरियास्थित नेपाली दूतावासले नेपालीलाई सहज रहन अनुरोध गरेको छ।
रोजगारीको खोजिमा ठूलो संख्यामा रहेका नेपालीलाई सजग रहन दूतावासले अनुरोध गरेको हो।
पछिल्लो समय कोरियामा कोभिड–१९ भाइरसबाट संक्रमित हुनेको संख्यामा तीव्र वृद्धि भएको छ। थेगु सहरमा सबैभन्दा बढी संक्रमित भएका छन्।
कोभिड–१९ को संक्रमणबाट हालसम्म ४ जनाको मृत्यु भइसकेको छ। एकै दिनमा संक्रमित हुनेको संख्या दोब्बर वृद्धि भएको छ। संक्रमित हुनेहरुको संख्या पाँच सय ५६ पुगेको दूतावासले जनाएको छ ।
कोरिया सरकारले अवैधानिक रुपमा बसोबास गरेकालाई कोराना भाइरसको शंका लागेमा स्वास्थ्य परीक्षणका गर्न पक्राउ नगर्ने र भिसा सकिएकालाई ५० दिनको अतिरिक्त भिसा थपिदिने भएको छ।
कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य संस्थाबाट जारी भएका सुरक्षा उपायहरु अबलम्बन गर्न दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ।
सन् २००८ देखि हालसम्म नेपालमा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ६५ हजार ८ सय ४५ नेपाली कोरिया पुगेका छन्। भने अध्ययन र व्यवसाय गर्ने नेपाली पनि त्यहाँ बसोबार गरिहेका छन्।