डा विनय सुवेदी
दाँतलाई गिजाले वरिपरिबाट घेरेको हुन्छ। गिजा र गिजाका विविध फाइबरले दाँत र तलको हड्डीलाई छोप्नुका साथै दाँतलाई आफ्नो ठाउँमा बाध्ने काम गरेको हुन्छ। गिजा तल रहेको हड्डी भन्दा करिब २ मिमि माथि दाँतको सिइजीको लेबलमा हुन्छ तर यावत कारणले गर्दा गिजा माथि सर्ने गर्छ। जसलाई मेडिकल टर्ममा 'रिसेसन' भनिन्छ भने सामान्य भाषामा 'हर्षा' भन्ने गरिन्छ।
रिसेसन (हर्षा) का कारण
बढ्दो उमेरसँगै कहिलेकहीँ गिजा तल सर्नु सामान्य परिवर्तन हो। उमेरसँगै विस्तारै कमजोर बन्दै जाने गिजा र लामो समयसम्म बढ्दै जाने दाँत र गिजा वरिपरिको फोहोरले गिजा तल सर्दै जाने गर्छ।
फोहोर मुख: दाँत माझेको केही सेकेन्डभित्रै दाँतको सतहमा थुकको प्रोटिनहरुले एउटा लेयर बनाउँछ, जसले ब्याक्टेरियालाई दाँतको सतहमा टाँसिने र प्रजनन् गर्ने वातावरण बनाइदिन्छ। यो लेयर सामान्यतया: गिजा र दाँतको बीचमा बन्ने गर्छ। यहाँ हुने ब्याक्टेरिया र तिनीहरुको अनेक टक्सिनको कारणले गिजामा सुजन हुनुका साथै भित्री भागमा सानो सानो घाउ बन्न सुरु हुन्छ। जसक कारण गिजा सुन्निने, गिजाबाट रगत आउने जस्ता लक्षण देखिने गर्छन्। यस स्थितिसम्म गिजा र शरीरको प्रतिरक्षा प्रणालीले गिजालाई हल्का तल सारेर यो सुजनलाई कम गर्न खोज्छ। केही दिनसम्म दाँत नमझ्दा अथवा रेगुलर नमझ्दा, धेरै भन्दा धेरै फोहोर दाँत र गिजाबीच जम्न गई सारो जान्छ, जसलाई क्याल्कुलस भनिन्छ। यस क्याल्कुलसले अझ ब्याक्टेरियालाई टाँसिन र प्रजनन् गर्न धेरै क्षेत्रफल दिने गर्छ। यो सबै प्रक्रियाको जवाफमा शरीरको प्रतिरक्षा प्रणालीले गिजालाई अझ तलतल सार्दै लैजान्छ।
दाँत माझ्ने गलत तरिका: राम्रोसँग दाँत नमाझ्नुको कारण पनि गिजा माथि सर्न सक्छ। दाँत माझ्दा ब्रसलाई दाँत र गिजाको बीच ४५ डिग्रीको कोडमा राखी, हल्का भाइब्रेट गरी गिजाको विपरीततर्फ बढारेको जसरी माझ्नु पर्छ। तलको दाँतको भित्रपट्टि र माथिका बंगाराको बाहिरपट्टिको भागमा थुक ग्रन्थीहरु मुखमा खुल्ने भएकाले सबैभन्दा धेरै फोहोर जम्ने गर्छ। यी भागहरु सफा नगर्दा धेरै फोहोर जम्न गई गिजाहरु तल सर्ने गर्छन्। साथै, धेरै घोटेर दाँत माझ्ने बानी, धेरै खस्रो मन्जन (डाबर लालको धुलो) प्रयोग गर्नाले, गिजाको विपरीततिर बढार्नु पर्नेमा गिजातर्फ बढार्नु रिसेसनका अन्य कारण हुन सक्छन्।
दाँत भरेको नमिल्नु: दाँत भर्दा कहिलेकाहीँ किराले खाएको भागभन्दा अलि तल गिजासम्म हुने गरी भरिँदा गिजा इरिटेट हुने गर्छ। यसरी चाहिने भन्दा ठूलो गरी भरिएको दाँतले एक त गिजालाई इरिटेट गर्छ भने त्यसको वरिपरि धेरै फोहोर जम्न जान्छ, नतिजा गिजा माथि सर्छ।
बांगा-टिङ्गा दाँत: बांगा-टिङ्गा, छिद्र नमिलेका दाँतहरुले दाँत राम्ररी माझ्नमा बाधा बनाउँछ, जसले गर्दा दाँतको बीचमा फोहोर जम्न थाल्छ र कालान्तरमा गिजा माथि सर्न थाल्छ।
दाँतमा तार बाँधेर गरिने उपचार: यद्यपि, बांगा-टिङ्गा दाँतलाई मिलाउन दाँतमा तार बाँधिने भए तापनि यस उपचारको दौरान दाँत र गिजा राम्ररी सफा हुन सक्दैन र हर्षा हुन्छ।
रिसेसनबाट हुने समस्या
धेरैजसो रिसेसन अरु गिजा र दाँतको समस्याको लक्षण हुने गर्छ। केही मुख्य समस्याहरु यस प्रकार छन:
दाँत सिरिङ्ग-सिरिङ्ग हुने: गिजा तल सर्दै जाँदा विस्तारै दाँतको जरा मुखमा देखिन थाल्छ। दाँतको जरामा दाँतको जस्तो बलियो ुइनामेलु को ठाउँमा तुलनात्मक रुपमा कमजोर 'सिमेन्टम' हुन्छ जुन सामान्य दाँत माझ्दा पनि झर्ने गर्छ। यसरी समयको साथमा डेन्टिन देखिन थाल्छ। डेन्टिनबाट दाँतको नशा (पल्प) सम्म स-साना प्वाल हुन्छन्। गिजा तल सरेका बिरामीमा खाएका हरेक खानाहरु सिधै डेन्टिनमा ठोक्किन जान्छ र नशासम्म पुग्छ। यस कारण करेन्ट लागेको जस्तो दुखाइ महसुस हुन्छ।
जरामा किरा लाग्नु: जरा दाँत जस्तो बलियो हुँदैन र किरा लाग्ने सम्भावना जरामा बढी हुन्छ।
हड्डी तल सर्दै जानु: गिजाको साथमा भइरहेको इरिटेसनको कारणले हड्डीको लेवलले तल सर्दै जान्छ। यस कारण दाँत हल्लिने र झर्न सक्ने सम्भावना हुन्छ।
डा विनय सुवेदी
रिसेसनको उपचारको सबैभन्दा प्रभावकारी तरिका भनेको रिसेसन हुनै नदिनु हो जसको लागि नियमित, सही तरिकाले दिनको दुई पटक दाँत माझ्ने गर्नु पर्छ।
दाँत कसरी माझ्ने?
- ब्रसलाई गिजा र दाँत दुवै छुने गरी दाँतसँग ४५ डिग्रीको कोणमा राख्ने।
- एक पटकमा २-३ वटा दाँत हल्का भाइब्रेट गरी गिजाबाट तलतिर बडारेको जसरी दुवैतिर सफा गर्ने।
- ४५ डिग्रीको कोण बनाउँदै दाँतको भित्री भाग पनि त्यसरी नै सफा गर्ने।
- ब्रसलाई ठाडो पारेर तल-माथि गर्दै अगाडिको भित्री भाग पनि सफा गर्ने।
- दाँतको भागमा अगाडि-पछाडि गर्दै सफा गर्ने।
दाँतलाई सफा गर्ने (इस्केलिङ गर्ने)
दाँतको सतहबाट फोहोरलाई हटाएर पोलिस गर्नुका साथै मनतातो नुनपानीले दिनको दुई पटक कुल्ला गरेमा सुन्निको गिजा ठाउँमा बस्छ। फोहोर नै गिजा तल सर्नुको मुख्य कारण भएकाले दाँत सफा गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ।
इस्केलिङ गरेपछि के कुरामा ध्यान दिने?
- दाँत सफा गरिसकेपछि एक घन्टासम्म केही पनि नखाने।
- २४ घन्टासम्म धेरै चिसो र धेरै तातो खानेकुरा नखाने, रङ सर्ने खानेकुरा नखाने जस्तैस् चिया, कफी, कोक आदि। जोड लगाएर मुख कुल्ला नगर्ने, नरम खानेकुरा खाने।
- दाँत सफा गरिसकेपछि २-३ दिनसम्म सिरिङ्ग हुनसक्छ। यस्तो धेरै भएमा दक्ष विषेशज्ञद्वारा तोकिएको दन्तमन्जन प्रयोग गर्ने।
- चुरोट तथा सूर्तिजन्य पदार्थ नखाने।
- दाँतमा टाँसिने खानेकुरा जस्तैस् चकलेट, चिप्स, पपकर्न आदि कम खाने र खाइसकेपछि राम्ररी कुल्ला गर्ने।
- नियमित रुपमा बिहान र बेलुका खाना खाइसकेपछि नरम किसिमको ब्रसले ३-५ मिनेट दाँत माझ्ने।
- दाँतको बीचमा ब्रसले ननिस्किएका खानेकुरा डेन्टल फ्लस प्रयोग गरेर निकाल्ने।
- मुख कुल्ला गर्ने औषधि प्रयोग गर्ने। ५ एमएल औषधि र ५ एमएल पानी मिसाउने र ब्रस गरेको केही समयपछि १ मिनेटसम्म कुल्ला गर्ने। कुल्ला गरेको आधा घन्टासम्म केही नखाने।
- हरेक ६-६ महिनामा दन्त चिकित्सककहाँ गई दाँत जँचाउने।
डिसेन्सिटाइजर
गिजा तल सर्नुका साथै सिरिङ्ग(सिरिङ्ग लाग्ने, दुख्ने आदि समस्या देखा पर्ने गर्छ। बजारमा थर्मोसिल, सेन्सोडाइन, मेडिप्लस जस्ता विविध नामका मन्जन उपलब्ध छन् जसले खुलेका डेन्टिनमा नलीहरुलाई बन्द गर्ने गर्दछन् र खाएका कुराहरु सिधा नशासँग सम्पर्कमा आउन पाउँदैनन। यी मन्जनहरुले गिजा तल सर्न कम नगरे पनि सिरिङ्ग-सिरिङ्ग लाग्ने, दुख्ने हुँदैन।
यदि उल्लेखित उपायहरुले समस्या कम नभएमा सकेको चाँडो डेन्टल हस्पिटलर क्लिनिक जानु पर्छ जहाँ डेन्टिस्टले अन्य उपायहरु अपनाउन सक्छन्। अन्त्यमा कुनै उपाय नलागे दाँतलाई जराबाटै भरेर उक्त समस्याको समाधान गर्न सकिन्छ।
दाँत भर्ने: कहिलेकहीँ गिजा तल सर्नुको कारण दाँतको जरा खिएको हुन्छ जसलाई अस्थाई वा स्थाई सिमेन्टले भर्न सकिन्छ।
अर्थोडनटिक उपचार: गिजा तल सार्नुको कारण यदि बांगा-टिङ्गा दाँतहरु हुन् भने दाँतमा तार बाँधेर सही ठाउँमा ल्याई उपचार गर्न सकिन्छ।
गिजाको सल्यक्रिया: अन्त्यमा र अनुकुल केसहरुमा गिजाको शल्यक्रियाले गिजालाई सही ठाउँमा ल्याउन सकिन्छ।