काठमाडौं- चीनको वुहानबाट सुरु भएको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण दक्षिण कोरियामा फैलिँदाे क्रममा छ।
याे भाइरसकाे संक्रमणबाट दक्षिण काेरियामा ७ जनाकाे मृत्यु भइसकेकाे छ भने संक्रमित हुनेकाे संख्यामा पनि वृद्धि भएकाे छ।
थप १६१ जनामा कोभिड-१९ काे संक्रमण देखिएकाे छ। याेसँगै संक्रमित हुनेकाे संख्या ७६३ पुगेकाे छ।
भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि दक्षिण कोरियाले सतर्कता बढाएको छ। राष्ट्रपति मुन जाय–इनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘अभूतपूर्ण र शक्तिशाली कदम’मा जोड दिँदै देशैभर उच्च सतर्कता बढाइएको घोषणा गरेका छन्।
याे भाइरसका कारण चीनमा सबैभन्दा धेरै मानिसकाे मृत्यु भएको छ। साेमबार बिहानसम्म चीनमा काेराेना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय ४२ जना पुगेको छ।
चीन बाहिर इरानमा ८, दक्षिण कोरियामा ७, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १, फिलिपिन्समा १ गरी २ हजार ४ सय ६८ जनाकाे मृत्यु भएको छ। विश्वभर ७९ हजार १ सय ४० जना कोरोना भाइरसबाट संक्रमित बनेका छन्।