काठमाडौं– कान्ति बाल अस्पतालका नवनियुक्त निर्देशक डा कृष्णप्रसाद पौडेलले अस्पतालको सेवा सुधारका लागि काम गर्ने बताएका छन्।
सोमबार पदवहाली गर्दै निर्देशक पौडेलले अस्पतालको गुणस्तरमा कमी आउन नदिने बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उनलाई बिहीबार अस्पतालको निर्देशकको जिम्मेवारी दिएका हुन्।
डा पौडेलले अस्पतालमा सञ्चालित सेवालाई निरन्तरता दिने बताउँदै भने, ‘अस्पतालको सेवामा सुधार आउने र गुणस्तर बढाउने तरीकाले काम गर्नेछु।’
अस्पतालका निर्वतमान निर्देशक डा आरपी बिच्छाले अस्पतालको गुणस्तरमा कमी आउन नदिइ भएका जनशक्तिलाई आवश्यक रुपमा परिचालन गर्न सुझाव दिए।
उनले भने, ‘भविष्यमा केही सेवा बन्द हुन्छ की भनेर डर छ। तर, अस्पतालमा चलिरहेको सेवालाई बन्द हुन दिनु हुँदैन।’ अस्पतालले सात महिनामा ७ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए।
आजै, अस्पतालले बुधबारबाट सेवा निवृत्त हुन लागेका पूर्व निर्देशक डा गणेश राईलाई पनि विदाई गरेको छ।
पूर्व निर्देशक राईले विदाई कार्यक्रममा अस्पतालमा आवश्यक अनुसारको कर्मचारी पूर्ति हुन नसकेको बताए। उनले सिमित कर्मचारी र बजेटका कारण सोचेजति सेवा दिन नसकिएको अनुभव सुनाएका थिए।