काठमाडौं- सरकारले कोरोना भाइरसको जोखिम मध्यनगर गर्दै त्रिभुवन विमानस्थलमा थर्मल स्क्यानर थप गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सोमबार विमानस्थलको अनुगमन गर्दैै थर्मल स्क्यानर थप्नुपर्ने आवश्यक रहेको बताए। उनले भने,‘विमानस्थलमा अझ उच्च प्रविधिको थर्मल स्क्यानसर थप गर्नुपर्ने आवश्यकता देखिएको छ। कति संख्या थप्ने छलफल हुँदैछ। तुरुन्तै थप गर्छौ।’
संसारभर कोरोना भाइरसका नाममले चिनिएको कोभिड १९को संक्रमण फैलिन थालेपछि स्वास्थ्य मन्त्रालय विमानस्थलमा स्वास्थ्य डेक्सलाई सुधार गर्दै निगरानी बढाएको छ।
उक्त स्क्यानरले विमानमार्फत आएका यात्रुको ज्वरो नाप गर्नेछ। सो क्रममा ज्वरो देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल लैजाने व्यवस्था गरिएको छ।
थर्मल स्क्यानरले यात्रुहरुको शरीरको तापक्रम अटोमेटिक रुपमा परीक्षण गर्ने गर्छ।
विश्व स्वास्थ्य संगठनको समन्वयमा ल्याइएको उक्त थर्मल स्क्यानरले माघ १० गतेदेखि यात्रुको ज्वरो नाप्न थालेको हो।
मन्त्रालयले गत विहिबार मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा सम्हालिरहेका श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिएको थियो। सोमबार विभागमा कार्यभार सम्हालेपछि उनी विमानस्थलको निरीक्षणमा गएका हुन्।
उनले अहिले स्वास्थ्य डेक्समा एउटा थर्मल स्क्यान्सर, २ वटा इन्ट्रा रेड रहेको बताए। एक जना चिकित्सकसहति अन्य ३ जना स्वास्थ्यकर्मीको पनि व्यवस्था गरिएको उनले जानकारी दिए।