काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मा गैरचिकित्सकलाई दिएकोमा विरोध गरेको छ।
संघले सामेबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयको उक्त निर्णयलाई पुनरविचार गर्न माग गरेको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहिबार स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा महेन्द्र श्रेष्ठलाई नियुक्त गरेका थिए। मन्त्री ढकालले निमित्त महानिर्देशक डा रोशन पोखरेललाई मन्त्रालयमा तानेर श्रेष्ठलाई जिम्मेवारी दिएका हुन्।
विभागमा १२ औं तहका महानिर्देशकको दरवन्दी रहेको छ। डा पोखरेल र श्रेष्ठ ११ औं तहका कर्मचारी हुन्। श्रेष्ठ हेल्थ इन्स्पेक्सन समूहका हुन्।
संघले विभागको स्थापनाकालदेखि चिकित्सकले नै नेतृत्व गर्दै आएको स्मरण गराउँदै गैर चिकित्सकलाई दिने निर्णयले सम्पूर्ण चिकित्सकलाई हतोत्साही गर्ने र स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव परेको भन्दै ध्यानाकर्षण गरेको हो।
‘अहिलेको निर्णयले स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव पार्ने भएको हुनाले समग्र स्वास्थ्य सेवालाई प्रभावित पार्ने कुनै पनि निर्णय नलिन मन्त्रालय समक्ष संघ अपिल गर्दछ,’ संद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले उक्त निर्णय नसच्याए कडा कदम चालने चेतावनी समेत दिएको छ। ‘उक्त निर्णयलाई नसच्याइएको अवस्थामा सम्पूर्ण चिकित्सकहरुको भावना र मर्म अनुरुप नेपाल चिकित्सक संघ कडा कदम चाल्न बाध्य हुने र यसले समग्र स्वास्थ्य सेवालाई नै नकारात्मक असर पार्ने भएको हुँदा उक्त निर्णयका सम्बन्धमा अभिलम्ब पुर्नविचार गर्न संघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।