काठमाडौं– दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि नेपालबाट कामदार पठाउने वा नपठाउने भन्ने विषयमा सरकार अलमलमा परेको छ।
तत्काल कामदार पठाउने वा नपठाउने भन्नेबारे अवस्था हेरेर निर्णय लिइने श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए।
कोरियामा कोरोना संक्रमण बढ्दै गएपछि कोरियाली सरकारको निर्णयअनुसार रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले पनि यो साताभरिको उडान १८ फागुनलाई सारेको थियो।
‘१८ गते कामदार उठान रद्ध गर्ने वा पठाउने भन्ने निर्णय भइसकेको छैन, हामी छलफलका क्रममा छौं,’ शाखाका निर्देशक कृष्णप्रसाद खनालले नेपाल लाईभसँग भने।
स्वास्थ्य मन्त्रालयसहितको टोलीले सोमबार कोरियामा तत्काल कामदार पठाउने वा नपठाउने सम्बन्धमा छलफल गरेको थियो। सो छलफल निस्कर्षमा पुगिनसकेको शाखाले जनाएको छ।
सामान्य अवस्था भएमा कामदार पठाइने र कोरोनाको संक्रमणको अवस्था जटिल बन्दै गए कामदार पठाउन रोक्नुपर्ने अवस्था आउने शाखाका निर्देशक खनालले बताए।
कोरोना भाइरसका कारण दक्षिण कोरियामा ८ जनाले ज्यान गुमाइसकेका छन् भने ८ सयभन्दा बढी संक्रमित भएको विभिन्न कोरियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सोमबारमात्रै २ सय ३१ जनामा सो भाइरसको संक्रमण देखिएको छ।
चीनपछि कोरोना संक्रमण बढी भएको मुलुकमा कोरिया परेको छ। ठूलो संख्यामा रहेका नेपालीलाई समेत सजग रहन कोरियास्थित नेपाली दूतावासले आग्रह गरिरहेको छ।
नेपाली युवाहरुको आकर्षक रोजगारीको गन्तव्य मुलुक बन्दै गएको कोरियामा सन् २००८ देखि हालसम्म इपिएसमार्फत् मात्रै ६५ हजारभन्दा बढी युवाहरु पुगेका छन्।
कोरियामा विभिन्न व्यवसाय तथा अध्ययनका लागि पुगेका नेपालीको संख्या पनि उल्लेख्य छ।