काठमाडौं– स्वास्थ्य सेवा विभागको महानिर्देशकमा गैर चिकित्सकलाई जिम्मेवारी दिएको विषयमा स्वास्थ्य क्षेत्रका दुई पेशागत संगठन विरोध र समर्थनमा उत्रिएका छन्।
गैर चिकित्सकलाई जिम्मेवारी दिएको विरोधमा नेपाल चिकित्सक संघ उत्रेको छ। नेपाल जनस्वास्थ्य संघले भने समर्थन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गत बिहीबार विभागको निमित्त महानिर्देशकमा महेन्द्र श्रेष्ठलाई नियुक्त गरेका छन्। श्रेष्ठलाई जिम्मेवारी दिँदै डाक्टर रोशन पोखरेललाई मन्त्रालयमा तानिएको छ।
श्रेष्ठ हेल्थ इन्सपेक्सन समूहका हुन्। विभागको महानिर्देशकमा गैर चिकित्सकले जिम्मेवारी पाएको सम्भवत यो नै पहिलो पटक हो। यसअघि विभागमा चिकित्सकहरुले नै विभागको नेतृत्व सम्हाल्दै आएका थिए।
गैर चिकित्सकलाई जिम्मेवारी दिएपछि नेपाल चिकित्सक संघले विज्ञप्ति निकाल्दै उक्त निर्णय सच्याउन भनेको छ। संघले गैर चिकित्सकलाई दिने निर्णयले सम्पूर्ण चिकित्सकलाई हतोत्साही गर्ने र स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव परेको भन्दै ध्यानाकर्षण गरेको छ।
संघले उक्त निर्णय नसच्याए कडा कदम चालने चेतावनी समेत दिएको छ। ‘उक्त निर्णयलाई नसच्याइएको अवस्थामा सम्पूर्ण चिकित्सकहरुको भावना र मर्म अनुरुप नेपाल चिकित्सक संघ कडा कदम चाल्न बाध्य हुने र यसले समग्र स्वास्थ्य सेवालाई नै नकारात्मक असर पार्ने भएको हुँदा उक्त निर्णयका सम्बन्धमा अभिलम्ब पुर्नविचार गर्न संघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
चिकित्सक संघले विरोध गरे पनि नेपाल जनस्वास्थ्य संघले भने उक्त निर्णयको समर्थन गरेको छ।
जनस्वास्थ्य संघले आज विज्ञप्ति जारी गर्दै चिकित्सक बाहेक अन्य सेवाका कर्मचारीलाई नेतृतवको अवसर दिएकोमा मन्त्रालयलाई धन्यवाद भनेको छ। तर संघले दरबन्दी अनुसारको समूह नमिलेकाको हकमा भन् सच्याउन आग्रह गरेको छ।
विभागमा १२ औं तहका महानिर्देशकको दरवन्दी रहेको छ। श्रेष्ठ र पोखरेल दुवैजना सोमबारको मन्त्रिपरिषदको निर्णयबाट १२औं तहमा बढुवा भएका छन्।
हेरौं जनस्वास्थ्य संघको विज्ञप्ति

हेरौं चिकित्सक संघको विज्ञप्ति
