डा अनिल श्रेष्ठ
नेपालमा देखिने मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने समस्यामध्ये सबैभन्दा बढी देखिने रोगमा पर्छ मिर्गौलाको पत्थरी। यसका लागि विभिन्न उपचार पद्धतिहरु छन्:
- एक्स्ट्राकरपोरियल सक वेभ लिथोट्रिप्सी (इएसडब्लुएल)
- रेट्रोग्रेड इन्ट्रारेनल सर्जरी (आरआइआरएस)
- प्रिक्युटानियोस नेफ्रोलिथोट्रिप्सी (पिसिएनएल)
- ओपन सर्जरी
- केही बिरामीका लागि 'पर्ख र हेर'
यी सबै उपचार पद्धतिमध्ये आरआइआरएस सबैभन्दा आधुनिक विधिमा पर्छ। यीमध्ये कुन विधि बिरामीलाई उपयुक्त हुन्छ भन्ने निर्णय विभिन्न कुरामा निर्भर रहन्छ। पत्थरीको संख्या र आकार, मिर्गौलाभित्र पत्थरीको स्थान, पत्थरीको कडापन, पत्थरी परेको मिर्गौलाको र अर्को मिर्गौलाको अवस्था, मिर्गौला र पिसाब नलीलाई पत्थरीले पारेको असर र पहिलो पल्ट परेको पत्थरी वा अपरेसनपछि बाँकी रहेको पत्थरी जस्ता थुप्रै कुराको आधारमा शल्यक्रियाको पद्धति छान्नुपर्ने हुन्छ। यसो हुनाले राम्रो पद्धति भइकन पनि सबै मिर्गौलाका पत्थरीको लागि कुनै निश्चित प्रविधि नै उपयुक्त हुन्छ भन्न मिल्दैन।
कस्तो पत्थरीको लागि आरआइआरएस राम्रो?
मिर्गौलाको विभिन्न भागको र पिसाब नलीको माथिल्लो भागमा रहेका पत्थरीहरुको सफल उपचार आरआइआरएसबाट गर्न सकिन्छ। १५-२० मिमिसम्मको पत्थरीको लागि आरआइआरएस आकर्षक उपचार प्रविधि हो। त्योभन्दा ठूलो पत्थरीको लागि आरआइआरएस गर्दा पूरै निखार्न दोस्रो पल्ट पनि गर्नु पर्न सक्छ। त्यसकारण मिर्गौलाको पत्थरीको उपचार गर्ने क्रममा आफ्नो शल्यचिकित्सकसँग सबै पद्धतिहरुको सम्भावना, फाइदा, बेफाइदा, आउन सक्ने जटिलताहरु, अरु विकल्प र अपरेसन गर्दा र नगर्दाको नतिजाहरुबारे छलफल गर्न अति आवश्यक हुन्छ।
आरआइआरएस भन्ने शल्यक्रिया मिर्गौलाको पत्थरी र क्यान्सरको लागि गर्ने सबैभन्दा आधुनिक प्रक्रियामा पर्छ। उपचारपश्चात् पत्थरी फेरि फर्कन सक्ने सम्भावना भएको कारण मिर्गौलालाई कम असर पार्ने प्रविधिहरु बढी प्रचालित भएको हो। यस प्रविधिमा आधुनिक मेसिन पिसाबको नलि हुँदै मिर्गौलासम्म पुगेर लेजरबाट पत्थरी फुटाइन्छ।
पत्थरीका ठूला टुक्राहरू बास्केट भन्ने औजार प्रयोग गरी निकाल्न सकिन्छ अथवा लेजरबाट मसिनो धुलोहरु बनाई पिसाबबाट बगाएर निकाल्न सकिन्छ। यस अपरेसनपश्चात् प्रायजसो १-२ हप्तासम्मको लागि डबल जे स्टेन्ट भन्ने सानो पाइप मिर्गौलामा राख्नुपर्ने हुन्छ। यसले पत्थरीका साना टुक्राहरू मिर्गौला र पिसाब नलीबाट निकाल्न मद्दत गर्छ।
आरआइआरएस गर्दा कुनै घाउ अथवा मिर्गौलामा प्वाल पार्न नपर्ने भएको हुँदा अपरेसनपछि हुने दुखाइ धेरै न्यून हुने हुनाले दुखाइ कम गर्ने औषधिको खपत पनि कम हुन जान्छ। त्यस्तै रगत चढाउनुपर्ने सम्भावना यस अपरेसनमा प्राय: शून्य नै हुने र अस्पतालमा एक दिन मात्र भर्ना भए पुग्ने हुनाले बिरामीहरु उपचारपछि चाँडै आफ्नो नियमित काममा फर्कन सक्ने हुन्छन्।
यस प्रविधिमा प्रयोग हुने औजारहरु धेरै संवेदनशील र केही खर्चिला छन्। मसिनो औजार र सानो पिसाब नली हुँदै अपरेसन गर्नुपर्ने हुँदा, अनुभवी चिकित्सक र सबै आवश्यक उपकरणहरु भएको संस्थामा उपचार गर्दा सफल हुने सम्भावना बढी हुन्छ।