काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को संक्रमण युरोपेली देशमा फैलँदै गएको छ। कोरोनाको उद्गमस्थल चीनमा पछिल्लो समय नयाँ संक्रमणको दर घट्दै गए पनि युरोपसहित, मध्यपूर्व र अन्य राष्ट्रमा कोरोनाको संक्रमण फैलँदै गएको हो।
इटालीबाट फर्केका आफ्ना नागरिकमा कोरोनाको संक्रमण देखिएको अष्ट्रिया, क्रोएसिया र स्वीजरल्यान्डले बताएका छन्। दक्षिण अमेरिकामा परीक्षण गरिएकोमा पहिलो पटक संक्रमण पुष्टि भएको छ। उनी इटालीबाट फर्केका ब्राजिलियन हुन्।
युरोपेली राष्ट्रमध्ये इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ। इटालीमा मात्र ११ जनाको मृत्यु र तीन सय संक्रमित भएका छन्। युरोप, मध्य तथा दक्षिणी इटालीमा नयाँ संक्रमण देखिएपछि फ्रान्स, जर्मनी, इटालीका स्वास्थ्यमन्त्री र इयु कमिसन कमिटीको मंगलबार बसेको बैठकले एक मोर्चा खोल्ने निर्णय गरेको छ। जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले अवस्था अझ गम्भीर हुनुभन्दा पहिले केही गर्नुपर्ने बताएका छन्।
थाइल्यान्डमा तीन जनामा संक्रमण पुष्टि
थाइल्यान्डमा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ४० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दुई जना व्यक्ति जापानको उत्तरी द्वीप होक्काइडोबाट फर्किएका हुन् भने एक जना उनीहरुको संम्पर्कमा आएका कारण संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुवेतमा संक्रमितको संख्या ११
कुवेतमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। इरानबाट फर्किएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो। योसँगै कुवेतमा संक्रमितको संख्या ११ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चीनमा ४०६ नयाँ संक्रमित, ५२ जनाको मृत्यु
कोरोनाको मुख्य भूमि चीनमा मंगलबार मात्र ४ सय ६ नयाँ संक्रमित भेटिएका छन्। चीनमा हालसम्म ७८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। मंगलबारसम्म २ हजार ७ सय १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। मंगलबार मात्र ५२ जनाको मृत्यु भएको आयोगले जनाएको छ।
युहानबाट मलेसियन नागरिकको उद्धार
मलेसियाले चीनको युहानमा रहेका आफ्ना नागरिकलाई उद्धार गरेको छ। मलेसियाले बुधबार दोस्रो समूहलाई उद्धार गरेको हो। युहानबाट उद्धार गरिएका ६६ जना मलेसियनलाई १४ दिनसम्म क्वारेन्टाइन (निगरानी) मा राखिने छ।