डा असीम महत
करिब दुई महिना अघिमात्र भर्खर एमबिबिस पास गरेका एक जना डाक्टर मित्रको हृदयघातबाट मृत्यु भएको खबर सुन्दा म अच्चमित भएको थिएँ। त्यस लगत्तै भारतमा पनि एक पन्ध्र वर्षीय बालिकामा हृदयघात देखिएको खबर सुनियो।
यी त केही प्रतिनिधि घटना मात्र हुन्। केही वर्षअघि चालीस कटेपछि मात्र देखिने यस्ता समस्या पछिल्लो एक तथ्यांक अनुसार क्रमिक रुपमा युवा अवस्थामा बढ्दो देखिन्छ।
नसर्ने रोग भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रोगको समूह बुझिन्छ। यसभित्र उच्च रक्तचाप, मुटु तथा रक्तनलीका समस्या, मधुमेह, दम, क्यान्सर, मिर्गौलाको समस्या आदि पर्छन्। यस्ता रोगहरु एउटा निश्चित कारक तत्व भन्दा पनि धेरै कारणहरुको संयुक्त असरबाट हुने गर्छन्।
अस्वस्थकर खानपान, अल्छिपना, मानसिक तनाब, धूमपान, मध्यपान, लागुऔषध सेवन नसर्ने रोगको प्रमुख कारण मानिन्छ। अर्कोतिर तीब्र गतिमा बढिरहेको आधुनिकीकरण, सहरीकरण, औधोगिकीकरण र कमजोर सरकारी नीति पनि उत्तिकै दोषी ठहरिन्छन्।
ज्वरो, खोकी, टाउको दुखाइ, पेट दुखाइ जस्ता लक्षण देखापरेमा मात्र रोग ठान्ने आम मानसिकता छ। तर मौन रुपमै आफूले पाल्दै गरेको प्राणघातक नसर्ने रोगहरुबारे हामी अनविज्ञ नै रहन्छौँ। पछिल्लो एक अध्ययन अनुसार संसारभरिको कूल मृत्युदरको करिब दुई तिहाइ अर्थात् करिब ६० प्रतिशतभन्दा बढी मृत्युको कारण नसर्ने रोगहरु मानिन्छन् जसमा पनि मुटु तथा रक्तनलीका समस्या अग्रपङ्क्तिमा पर्छन्।
तसर्थ आम मानिसले विशेष चासो नदिएको तर निकट भविष्यमा स्वास्थ्य क्षेत्रको एउटा ठूलो चुनौतीको रुपमा नसर्ने रोगहरुलाई लिन सकिन्छ। त्यसो त विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्दै नेपाल सरकारले सन् २०१७ देखि नसर्ने रोगसम्बन्धी पेन कार्यक्रम लागू गरेको छ। यो कार्यक्रम अहिले देशभरका ५१ जिल्लामा लागू छ भने आगामी आर्थिक वर्षबाट ७७ जिल्लामै लागू गर्ने सरकारको योजना रहेको छ।
नसर्ने रोगले ग्रसित व्यक्तिहरुको दैनिकी एकदमै कष्टकर हुन्छ। यसले एकातिर शारीरिक अशक्तता निम्त्याउन सक्छ भने अर्कोतिर ठूलो आर्थिक भार थप्ने गरेको देखिन्छ। त्यसमाथि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा नसर्ने रोग सम्बन्धी प्रभावकारी नीति, सहज र सर्वसुलभ उपचार प्रणाली नभएकाले जनताले थप सास्ती पाउने निश्चित नै छ।
तसर्थ उच्च वंशाणुगत जोखिम भएका, अस्वस्थकर खानपानमा विशेष रुचि भएका, धूमपान र मध्यपान सेवन गर्ने, मोटोपन भएका र शारीरिक सक्रियतामा कमी भएका व्यक्तिले निम्न जाँच गर्न अति आवश्यक देखिन्छ:
- रक्तचापको नियमित जाँच
- रगतमा सुगरको मात्रा
- रगतमा कोलेस्टेरोलको मात्रा
- मुटु र मिर्गौलाको जाँच
- फोक्सोको काम गर्ने क्षमताको जाँच
- चिकित्सकको सल्लाह बमोजिम केही अतिरिक्त जाँचहरु
यदि नसर्ने रोगहरुलाई समयमै निदान गर्न सकेमा औषधिको नियमित सेवनका साथसाथै जीवनशैली र खानपानमा परिवर्तन अपनाएर रोग नियन्त्रणमा राख्न सकिन्छ। रोग नियन्त्रणमा रहिरहेमा प्राणघातक जटिलता र शारीरिक अशक्तताबाट बच्न सकिन्छ।
यसर्थ, नसर्ने रोगहरुको हकमा रोग लाग्न नदिनुनै सर्वोत्तम विकल्प हो। यी रोगका जोखिम तत्वहरुको बारेमा हामी सबैले आफूले बुझ्न र अरुलाई बुझाउन उत्तिकै जरुरी छ। यदि हामीले दैनिक जीवनमा उल्लेखित जीवनशैली पद्दति अपनाएमा नसर्ने रोगहरुको जोखिम ८० प्रतिशत भन्दा बढीले घट्ने कुरा अध्ययनले देखाएको छ।
खानपान
- जंक फुड र प्रशोधित खानेकुरा नखाने
- धेरै नुनिलो खानेकुरा नखाने (प्रतिव्यक्ति दैनिक खपत पाँच ग्रामभन्दा कम)
- धेरै चिल्लो र धेरै गुलियो खानेकुरा नखाने
- फ्रिजमा लामो समय राखिएका खानेकुरा नखाने
- फलफूल र सागसब्जी धेरै खाने (दैनिक पाँच पसर/कम्तीमा चार सय ग्राम)
शारीरिक व्यायाम
- कम्तीमा पनि हप्ताको पाँच दिन दैनिक आधा घन्टाको हिसाबले पसिना आउने र मुटुको चाल बढ्ने गरी व्यायाम गर्नुपर्छ।
- मोटोपना भएका व्यक्तिले आफ्नो वजन घटाउन विशेष जोड दिनुपर्छ।
- धुवाँजन्य र धुवाँरहित कुनै पनि प्रकारको सुर्तीजन्य पदार्थ सेवन नगर्ने।
- कुनै प्रकारका मदिराजन्य पदार्थ थोरै मात्रामा पनि सेवन नगर्ने।