डा पुष्कर काफ्ले
बढ्दो उमेरका केटाकेटी र खेल खेल्ने क्रममा खेलाडीका दाँत जरा सहित नै बाहिर निस्कने घटना धेरै देखिन्छ। खेलाडिले खेल खेल्दा ठोक्किएर होस् वा अन्य केटाकेटीको विभिन्न दुर्घटनामा परी अगाडिको दाँत झर्ने वा निस्कने हुन्छ।
विशेषतः खेल खेल्ने क्रममा मैदानमै खेलाडिका दाँत झरेको धेरै देखिन्छ। लडेर, ठोक्किएर, दुर्घटना परेर वा अन्य विभिन्न कारणले अगाडिका दाँत निस्कन्छन्।
मेडिकल भाषमा सेन्ट्रल इन्सिजर भनिने अगाडिका दाँत तल र माथि गरी ८ वटा हुन्छन्। अगाडिको बेलना आकारका दाँतमा एक दाँत एक जरा मात्र हुने भएकाले सजिलै निस्कने प्रकृतिका हुन्छन्। तर, अन्य बंगाराका २ देखि ३ वटासम्म जरा हुन्छन्। त्यसैले तुलनात्मक रुपमा अरु दाँत बलिया भई सजिलै निस्कन सक्दैनन्।
सामान्य हल्लिँदैमा धेरैले दाँत नै निकाल्ने गर्छन्। यदि दाँत आकस्मिक रुपमा झरेमा त्यसलाई बेवास्ता गरी फालिदिन्छन्। यदि उपयुक्त किसिमले ती दाँतलाई संरक्षण गरी पुनः प्रयोगमा ल्याउन सकियो भने निकै फाइदाजनक हुन्छ।
आम सर्वसाधारणलाई थाहा नै छ, विश्वमा दाँतको उपचार महँगो छ। यसर्थ दाँत नै झिक्ने जुन परिपाटी छ, त्यसलाई रोकी सही किसिमले डाक्टरसँग परामर्श लिई उपचार थालेमा फुस्किएकै दाँतलाई पहिलेकै अवस्थामा फर्काउन सम्भव भई उपचार लागत समेत घट्छ।
अचानक अगाडिको दाँत निस्केमा के गर्ने त?
अकस्मात अगाडिको दाँत विभिन्न कारणले निस्किहाल्यो र आफूसँगै छ भने तुरुन्तै मुखभित्र च्यापेर राखी १५ देखि ३० मिनेट भित्रमा डेन्टल डाक्टरकोमा पुगेर उपचार गर्न सकिन्छ।
यदि दाँत जमिनमा खसेको छ भने पानीले धुने, पखाल्ने गर्नुहुँदैन बरु नउमालेको दूधमा डुबाएर सफा गरी सोही दूधमा नै राखी अस्पताल पुग्न सकियो भने पुनः सोही दाँतलाई नै प्रयोगमा ल्याउन सकिन्छ। दूधे दाँतको हकमा भने यो लागू हुँदैन।
यसलाई नर्मल सलाइन र ब्यालेन्स ह्यान्क्स सलुसन वा सेभ टुथ सलुसन जुन आइसोलेटेड नुन भएको तरल पदार्थ हो, त्यसमा डुबाएर समेत अस्पताल पुगियो भने यसको उपचार सम्भव हुन्छ।