काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को जोखिम रोकथाम तथा नियन्त्रणका लागि कार्यविधि बनाउन प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयका सह प्रवक्ता सागर दाहालले नेपालमा कोरोना भाइरस देखिए त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन लागिएको जानकारी दिए।
यसअघि क्वारेन्टाइनका लागि कार्यविधि मात्र बनाएको थियो। तर पछिल्लो समय कोरोना भाइरसको संक्रमण युरोप, अफ्रिकालगायतका मुलुकमा समेत देखिन थालेपछि मन्त्रालयले संक्रमण व्यवस्थापनको पूर्वतयारी गर्दै कार्यविधि बनाउन लागेको हो।
सह प्रवक्ता दाहालले भने, ‘नेपालमा कोरोना देखिए कसरी व्यवस्थापन गर्ने, उपचार प्रक्रिया के हुन र कसरी तयारी गर्ने, पूर्वतयारी र बच्न के कसरी सकिन्छ, रोकथाम कसरी गर्ने भन्ने विषय समेटेर कार्यविधि बनाउन लागेका हौँ।’
नेपालमा कोरोनाको जोखिम रोकथामका लागि समुदायस्तर या संस्थागत स्तरबाट संयन्त्र परिचालन गर्न सकिने उनले बताए।
दाहालले पूर्वतयारी स्वरुप नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रीनिङ व्यवस्था, कोरोना परीक्षण तथा निगरानीका लागि अस्पतालसंगको समन्वय गरिएको उनले बताए।