काठमाडौं- भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि नमूना संकलन गरिएको छ।
क्वारेन्टाइनमा राखिएको १४औं दिनमा पुनः कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको हो। नमूना संकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली क्वारेन्टाइन स्थलमा पुगेको थियो।
परीक्षणको नतिजा आउन ढिलोमा तीन दिन लाग्ने मन्त्रालयले जनाएको छ। रिपोर्ट आएपछि मात्र उनीहरु घर फर्कन पाउने छन्। संकलन गरिएको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परीक्षण गरिने मन्त्रालयले जनाएको छ।
यसअघि सरकारले क्वारेन्टाइनमा राखिएको १४औं दिनपछि घर फर्कन पाउने बताएको थियो। चीनबाट फर्काइएका १ सय ७५ जना सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ।
यसअघि गरिएको कोरोना परीक्षणमा सबै जनामा संक्रमण नरहेको पुष्टि भएको थियो। उनीहरु सबैको फागुन ४ गते नमूना संकलन गरिएको थियो भने फागुन ७ गते रिपोर्ट सार्वजनिक गरिएको थियो।