काठमाडौं- नेपालमा करिब २० प्रतिशत विद्यालय उमेरका बालबालिकामा दृष्टिदोषको समस्या रहेको पाइएको छ। मार्च दृष्टि जाँच अभियानको सुभारम्भ कार्यक्रममा विद्यालय जाने बालबालिकामा अदूर दृष्टिदोषको समस्या बढ्दै गएको नेपाल दृष्टि विशेषज्ञ संघले जानकारी दिएको छ।
अन्धोपनाको जोखिमलाई न्यूनीकरण गर्न भन्दै संघले विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा उक्त अभियान सुरु गरेको हो। अभियानको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी स्तरबाट आँखा अस्पतालमा प्रत्यक्ष रुपमा लगानी हुन नसकेको बताए। संघको अभियानले अन्धोपनाको जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुग्ने उनको भनाइ छ।
बालबालिका तथा समुदायको दृष्टि जाँच गरी भविष्यमा हुने अन्धोपनाको जोखिमलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको संघले जनाएको छ। मोबाइल, कम्प्युटर लगायत उपकरणको अत्यधिक प्रयोगका कारण अदूरदृष्टि जनस्वास्थ्य समस्याका रुपमा बढ्दै गएको संघका कार्यक्रम संयोजक डा दीपककुमार शाहले बताए।
अभियान अन्तर्गत सातै प्रदेशमा गरी एक लाख मानिसको आँखा परीक्षण गरिने संघले जनाएको छ। उक्त अभियान आँखा परीक्षण गर्नेभन्दा पनि आँखा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन बढी प्रभावकारी हुने अपेक्षा गरिएको शाहले बताए।
दृष्टि परीक्षण गराई दृष्टिदोष पत्ता लगाउन आवश्यक भएकोमा उनले जोड दिएका छन्। मुलुकभर करिब ९ सय दृष्टि विशेषज्ञ रहेको संघले जनाएको छ।
सन् २०५० सम्ममा विश्वका आधा जनसंख्यामा अदूर दृष्टिदोषको समस्या हुने विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको छ।